ललितपुुर । प्रशासनिक प्रशिक्षण केन्द्र, जावलाखेलमा जारी नेकपा एसको दोस्रो केन्द्रीय कमिटी बैठकका क्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल र केन्द्रीय सदस्य आरती लामाबीच मञ्चमै भनाभन चलेकाे छ ।
आफ्नो बोल्ने पालो आउँदा अन्तर पार्टी निर्देशन (अपानि) का आधारमा आफू अध्यक्ष रहेको अनेरास्ववियूको जिम्मेवारीबाट मुक्त गरिएको प्रति आक्रोश व्यक्त भनिन्, ‘मेरो प्रश्न छ, श्रद्धेय अध्यक्ष कमरेड, यो कस्तो विधि हो ?’
आरतीले यसो भन्नासाथ ‘तपाईं चूप लाग्नु्’ भन्दै अध्यक्ष नेपाल बसिरहेको ठाउँबाट जुरुक्क उठे । उनी उठ्नासाथ आरतीको छेउमै रहेका महासचिव घनश्याम भुसाल नेपालतिर गएर उनलाई थुम्थुम्याउन थाले । तर, माधव आरतीको छेउमै गएर उनको प्रतिकार गर्न तम्सिरहेका थिए ।
भुसालसहित मञ्चमा रहेका अन्य पदाधिकारीले नेपाललाई रोके । नेपालले ‘चूप लाग्नुस्, चूप लाग्नुस्’ भनिरहे । आरतीले दोहोर्याई, तेहेर्याई भनिरहिन्, ‘मैले बोल्न पाउनुपर्छ ।’
लामाले पार्टी नेतृत्वको निरंकुशताको शिकार आफू भएको र यो बैठकले उपयुक्त निर्णयसहित आफूलाई न्याय दिनुपर्ने कुरा उठाएकी थिइन् ।
‘हामीले विधिका कुरा गरेका थियौं, त्यसैका लागि विद्रोह गरेका थियौं’, लामाले भनिन्, ‘आज विधि कहाँ गयो ? के यही हो विद्रोहको औचित्य ?’
अध्यक्ष नेपाललाई अन्य पदाधिकारीले थुम्थुम्याउँदा पनि उन फेरि फेरि उठेर प्रतिकार गर्न तम्सिएपछि महासचिव भुसालले लामालाई ईशारा गर्दै मञ्चबाट बाहिरिन आग्रह गरे । लामा चाहिँ ‘मैले बोल्न पाउनैपर्छ’ भन्दै मञ्चबाट बाहिरिइन् ।

Leave a Reply