नेकपा एसमा उर्वादत्तको फरक मत- ‘आर्थिक पारदर्शिताको कुरा उठाउँदा प्रतिशोधपूर्ण व्यवहार भयो’

काठमाडौं । नेकपा एसको जारी केन्द्रीय कमिटीको दोस्रो बैठकमा अनुपस्थित पोलिटव्युरो सदस्य उर्वादत्त पन्तले पार्टी नेतृत्वले आफूप्रति प्रतिशोधपूर्ण व्यवहार देखाएका कारण बैठकमा जान मन नलागेको बताएका छन् ।

भदौ पहिलो साता सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकमा उनले ‘सुझाव एवं प्रस्ताव’ शीर्षकमा केही फरक मत पेश गरेका थिए । पहिलो बैठकले पदाधिकारी तथा पोलिटव्युरो सदस्यको निर्वाचन गर्नुपर्ने कारण उनका सुझाव र प्रस्तावमाथि छलफल नभएको भनिए पनि दोस्रो बैठकमा उक्त विषयलाई एजेण्डामै राखिएको छैन । ‘त्यसको सुनुवाई होला भनेको त उल्टै शत्रुको जस्तो व्यवहार हुन थाल्यो’, पन्तले भने ।

काठमाडौंमा केन्द्रीय कमिटी बैठक चलिरहँदा उनी कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित घरमै आराम गरिरहेका छन् । ‘अलिक सञ्चो पनि छैन’, उनले भने, ‘बैठकमा गएर के गर्नु, न राखेको कुरा सुनिन्छ, न त हैसियतअनुसारको भूमिका नै दिइन्छ ।’

पहिलो केन्द्रीय कमिटी बैठकमै केन्द्रीय पदाधिकारी तथा पोलिट्व्युरो सदस्यका निम्ति निर्वाचन हुँदा पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । पोलिटव्युरो सदस्यमा चुनाव जिते, तर उपाध्यक्ष हारे । ‘हारेँ भनेर होइन, चिट बाँडीबाँडी पार्टी नेतृत्वकै निर्देशनमा हराइयो भनेर चित्त दुखेको छ’, उनले भने । त्यसमाथि बैठकमा प्रस्तुत सुझाव र प्रस्तावले शीर्ष नेतालाई झस्काएको उनको भनाइ छ ।

उनले पार्टीका कुन तहसम्मका नेता, कार्यकर्ताले विभिन्न पेशा, व्यवसाय, लगानीको क्षेत्रमा कुन तह सम्म कति मात्रामा संलग्न हुने र जिम्मेवारीमा रहने स्पष्ट व्यवस्था गर्नुपर्ने माग गरेका थिए । आफू संगठित रहेको कमिटिमा प्रत्येक वर्ष अनिवार्य आफ्नो सम्पत्ति विवरण पेश गर्ने व्यवस्था गर्नुपर्नेलगायतका सुझाव र प्रस्ताव प्रस्तुत गरेका थिए ।

‘त्यसपछि त भएको जिम्मेवारीसमेत खोस्ने काम भयो, नयाँ जिम्मेवारीको त कुरै भएन’, उनले भने । पार्टीमा आफूभन्दा कनिष्ठ नेताले ठूला ठूला जिम्मेवारी पाएको, तर आफ्नो योग्यता र क्षमताअनुसारको जिम्मेवारी माग्दा पनि नपाएपछि उत्साह घटेको उनको भनाइ छ ।

हेर्नुहोस्, उनले पेश गरेको फरक मत ।

Comments

One response to “नेकपा एसमा उर्वादत्तको फरक मत- ‘आर्थिक पारदर्शिताको कुरा उठाउँदा प्रतिशोधपूर्ण व्यवहार भयो’”

  1. ksp pyl Avatar
    ksp pyl

    माधवजस्ताले चलाएको पार्टीमा यस्तै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *