काठमाडौं । केही वर्षयता नेपालमा विद्युतीय सवारी साधनको आकर्षण बढ्दो छ । नेपालमा विद्युतीय सवारीसाधनको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ । सरकारले विद्युतीय सवारीमा सहुलियत दिएसँगै यसको प्रयोग बढिरहेको छ । सञ्चालन खर्च कम हुने भएकोले पनि विद्युतीय सवारी धेरैको रोजाइमा परेको हो ।
चालू आर्थिक वर्ष २०८१/८२ को सात महिनामा ६ हजारभन्दा बढी विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । चालू आवको साउनदेखि माघमसान्तसम्म ६ हजार २५६ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
भन्सार विभागका अनुसार यस अवधिमा १४ अर्ब ७४ करोड रूपैयाँ बराबरको विद्युतीय गाडी आयात गरिएको छ । जसबाट सरकारले ९ अर्ब ८ करोड रूपैयाँ राजस्व पाएको छ ।
यस अवधिमा सबैभन्दा बढी चीनबाट विद्युतीय गाडी आयात गरिएको छ । ११ अर्ब ८७ करोड रुपैयाँ बराबरको चार हजार सात सय ६९ वटा विद्युतीय गाडी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
डिजेलकै सरह भाडा
विगत दुई वर्षयता दोलखा चरिकोटका दीपक मगर विद्युतीय गाडी चलाउँदै आएका छन् । १५ वर्षदेखि सवारी चालककोरुपमा काम गर्दै आएका मगर पछिल्लो समय विद्युतीय गाडी चलाउँदै आएका हुन् ।
करिब साढे चार घण्टामा उनले काठमाडौंबाट चरिकोट यात्रु पुराउँछन् । सोही समय आसपासमा उनी चरिकोटबाट काठमाडौं यात्रु लिएर फर्किछन् ।
‘बिहान ६ बजे काठमाडौंबाट यात्रु लिएर चरिकोटको लागि हिँड्छु । ११ बजे आसपास चरिकोट आइपुग्छु । दिउँसो फेरि २ बजे काठमाडौं फर्किन्छु’, उनले आफ्नो दैनिकी सुनाउँदै भने ।
काठमाडौंदेखि चरिकोट पुग्नका लागि उनले पाँच सय रूपैयाँ बराबरको चार्ज गरे भने पुग्छ । उनको गाडीको क्षमता ९ जना यात्रु बोक्न सक्ने छ । यात्रुहरूसँग उनले प्रतिव्यक्ति सात सय ५० रुपैयाँ भाडा लिने गरेका छन् । उनले पाँच सय रुपैयाँ खर्च गरे भने ६ हजार ७५० रुपैयाँ एक पटकमा आम्दानी गर्न सक्छन् ।
तर, सोही रुटमा इन्धनबाट चल्ने हायस चलाउँदै आएका अर्का चालक कृष्ण श्रेष्ठ भने एक टिपमा तीन हजार रुपैयाँ बचाउन पनि मुस्किल पर्ने बताउँछन् । उनलाई काठमाडौंबाट चरिकोट पुग्नका लागि करिब चार हजार रुपैयाँको इन्धन खर्च लाग्छ ।
विद्युत् र इन्धनको गाडी चलाउन कुन सहज भन्ने प्रश्नमा उनी भन्छन्, ‘गाडी सञ्चालकलाई विद्युतीय गाडी चलाउन धेरै नै फाइदा छ । कमाएको पैसा सबैजसो जोगिन्छ । हामीलाई त कमाएको धेरैजसो तेल हाल्दैमा ठिक्क हुन्छ ।’
विद्युतीय गाडी चलाउन खर्च निकै कम हुने मगरको अनुभव छ । उनी भन्छन्, ‘पहिले म पनि इन्धनबाट चल्ने गाडी नै चलाउँथे । पेट्रोलको गाडी चलाउँदाको खर्च र यसको खर्चमा आकाश जमिनको फरक छ ।’
सञ्चालन खर्च कम हुँदा अधिकांश राजमार्ग तथा स्थानीय रुटमा विद्युतीय गाडीले अन्य गाडीलाई विस्थापित गर्ने क्रम बढ्दो छ । बीपी राजमार्गमा अधिकांश साना विद्युतीय गाडीहरू सञ्चालन हुन्छन् । अहिले कमै सङ्ख्यामा यो रुटमा इन्धनका गाडीहरू कुद्ने गर्छन् ।
काठमाडौं-गाइघाट रुटको कुरा गर्ने हो भने यहाँ चल्ने अधिकांश सवारी विद्युतीय छन् । उनीहरूले एक हजार रूपैयाँको चार्ज गरे गन्तव्यमा पुग्छन् । तर, प्रतिव्यक्ति १२ सय रुपैयाँ भाडा असुल्ने गरेका छन् । जबकि सोही रुटमा इन्धनबाट चल्ने हायसहरुले पनि प्रतियात्रु १२ सय रूपैयाँ भाडा लिने गरेका छन् ।
विद्युतीय सवारी चालकको अनुभवमा विद्युतीय गाडी सञ्चालन खर्च निकै सस्तो पर्छ । सञ्चालन खर्च सस्तो भएपनि महँगो भाडा लिँदा विद्युतीय सवारीसाधन खरिदकर्ताहरूलाई निकै फाइदा हुने देखिन्छ । तर, यात्रुहरूलाई भने भाडामा कुनै सहुलियत नभएको पाइएको छ ।
सञ्चालन खर्च कम भएपनि इन्धनबाट चल्ने गाडीहरूको बराबर नै विद्युतीय गाडीहरूले भाडा लिँदै आएका छन् । काठमाडौंमै पनि विद्युतीय गाडीहरूले डिजेलबाट चल्ने गाडी सहर नै भाडादर लिँदै आएका छन् । विद्युतीय ट्याक्सीमा पनि छुट्टै भाडादर कायम छैन ।
भाडादर फरक हुनुपर्ने माग
अहिले सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनहरू प्रशस्तै भेटिन्छन् । सस्तो खर्चमा सञ्चालन हुने भएपनि विद्युतीय गाडीहरूको भाडादर भने डिजेल सरहकै हुने गरेको छ । यसरी हेर्दा यात्रुलाई भने विद्युतीय सवारीबाट आर्थिकरुपमा कुनै सहुलियत प्राप्त भएको देखिँदैन ।
विद्युतीय सवारीको सञ्चालन खर्च अनुसार भाडादर भने महँगो रहेकाले यात्रुहरूले ठगिएको गुनासो गर्दै आएका छन् । विद्युतीय गाडीको भाडादर घटाउनु पर्ने यात्रुहरूको माग छ ।
त्यस्तै, इन्धन र बिजुलीबाट चल्ने सवारी साधनको भाडादर फरक फरक निर्धारण हुनुपर्ने यातायात विज्ञ योगेन्द्रनाथ कर्माचार्यको भनाई छ । विद्युतीय सवारीको सञ्चालन खर्च नै कम हुने भएकाले यस्ता सवारी र इन्धनबाट चल्ने सवारीको भाडा फरक फरक हुनुपर्ने उनको तर्क छ ।
‘इन्धन र बिजुलीबाट चल्ने सवारी साधनको एउटै भाडादर अवैज्ञानिक हो । यसको मारमा यात्रुहरू परिरहेका छन् । विद्युतीय सवारीमा वैज्ञानिक भाडादर निर्धारण गर्नुपर्छ’, कर्माचार्यले भने ।
फरक भाडादर हुनुपर्ने उपभोक्ताको मागपछि यातायात विभाग भने यसबारे अध्ययन गरिरहेको छ । विभागका महानिर्देशक राजिव पोखरेलले सार्वजनिकरूपमा चल्ने विद्युतीय गाडीको भाडादरबारे अध्ययन गरिरहेको जानकारी दिए ।
उनले भने, ‘यसबारे गुनासो आएको छ । विद्युतीय सार्वजनिक यातायातको छुट्टै भाडा तोक्ने या के गर्ने भन्नेबारे अहिले विभागले अध्ययन गरिरहेको छ ।’
अध्ययनपछि सवारी सञ्चालन खर्चको अवस्था हेरेर मापदण्ड बनाउने तयारीमा विभाग छ ।

Leave a Reply