काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।
तत्कालीन सदस्य सचिव प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष तथा हालका सदस्य सचिव मिलनकुमार थापा र अरुणकुमार श्रेष्ठलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको जिकिरसहित अख्तियार पुनरावेदनमा गएको हो ।
गत वैशाख १८ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनीहरूलाई सफाइ दिएको थियो ।
जलहरी राख्ने क्रममा १ किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख १ हजार ७८१ रूपैयाँ ८५ पैसा रकम बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारका प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार आयोगको अनुसन्धान टोलीले कोषका प्रतिनिधि, स्थानीय सरोकारवालाको रोहबरमा सुनको नापतौल गर्दा राष्ट्र बैंकबाट खरिद गरिएको सुनको परिमाण १४९१.७१८ ग्राम कम गरी चाँदी र तामाको परिमाणमा क्रमशः १०४१ ग्राम तथा ७३२.६२ ग्राम बढाएर हिनामिना गरेको प्रतिवेदन पेश भएको थियो ।
सुन हिनामिनामा प्रतिवादीहरूको संलग्नता पुष्टि हुने यथेष्ट प्रमाण हुँदाहुँदै फैसलाको क्रममा त्यसलाई अनदेखा गरेको भन्दै अख्तियार सर्वोच्च पुगेको हो ।


Leave a Reply