रुपन्देही । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि लुम्बिनी प्रदेशका तीन मुख्य खेल मैदान रहेका रुपन्देहीका दुई र दाङको १ गरी तीन वटालाई छानेपनि यहाँका क्रिकेटप्रेमीहरु खुसी भएका छन् । प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म चल्नेछ ।
क्यानले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताका खेलहरु रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशाला र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा हुने भएको छ । पहिलो पटक प्रधानमन्त्री कपका सबै खेल काठमाडौं बाहिर आफ्नो प्रदेशमा हुने भएपछि यहाँका खेलप्रेमी खुसी भएका छन् ।
गत संस्करणको प्रधानमन्त्री कपका केही खेल रुपन्देहीमा भएका थिए। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग खेल्नेछन् ।
तिलोत्तमाको एक्ट्राटेक ओभलका प्रबन्ध निर्देशक विनोद कुँवर यो मौकाका लागि क्यानप्रति हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गरेका छन् । अष्ट्रेलियामा बस्ने कुँवरले करिब ४५ करोडको लगानीमा नेपालमै अत्याधुनिक क्रिकेट मैदान यहाँ बनाइरहेका छन् ।
‘नेपाल क्रिकेट संघ क्यानले फागुन २५ गतेदेखि हुने पीएम कप क्रिकेट प्रतियोगिताका लागि एक्स्ट्राटेक ओभलमा क्रिकेट मैदानलाई समेत छनौट गरेकोमा हामी निकै हर्षित छौं । एक्स्ट्राटेक ओभलमा पीएम कपका १५ खेल हुनेछन्, अरु खेल सिद्धार्थ रंगशाला र लमही क्रिकेट मैदानमा हुनेछन् । यो हाम्रो लागि मात्रै नभएर सिंगो रुपन्देही र लुम्बिनी प्रदेशका लागि गौरवको कुरा हो’ उनले भने ।
‘हामी पीएम कप खेल्ने सबै १० टिम, अफिसियल, क्यान पदाधिकारी र दर्शकहरुलाई स्वागत गर्न आतुर छौं । एक्स्ट्राटेक ओभललाई छनौट गरी यो मौका दिएकोमा नेपाल क्रिकेट संघ क्यानप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौं । तपाईंहरु हौसला दिनुहोस् हामी थप प्रेरित भएर स्मार्ट काम गर्नेछौं ।’कुँवरले भने–‘क्रिकेट पारखीका लागि यो भन्दा खुसीको कुरा के हुन्छ र ?’
नेपाली क्रिकेट खेलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा अहिलेका प्रशिक्षक शक्ति गौचनले पहिलो पटक यो महत्वपूण्र्म खेलका लागि लुम्बिनी प्रदेशलाई छानेर क्यानले राजधानी बाहिर खेलको पूर्वाधार छ भन्ने आभास दिलाएकोमा निकै खुसी लागेको बताउँछन् ।
‘यति महत्वपूर्ण खेल पहिलो पटक राजधानी बाहिर लुम्बिनी प्रदेशमा हुँदैछन्, खेलप्रेमीलाई यो भन्दा ठूलो खुसी केही हुँदै, क्यानले राजधानी बाहिर यो खालको अवसर दिएपछि स्वभाविक ऊर्जा बढ्नेछ, अहिले तयार भएका मैदान अन्र्तराष्ट्रिय खेल खेलाउन पूर्ण भएका छन्, हामीले ती सबै संरचना हेरिरहेका छौं’ उनले भने ।

नेपाल क्रिकेट संघ लुम्बिनीका अध्यक्ष संजय गुरुङले पहिलो पटक पिएल कप क्रिकेटका सबै खेल खेलाउन लुमिबनी प्रदेशले पाएकोमा निकै खुसी लागेको बताए । ‘सिनियर सबै खेलाडी फरक वातावरणमा पहिलो पटक राजधानी बाहिर खेल्न पाउने भएका छन्, अनुभवका हिसाबले यो निकै महत्वपूर्ण अवसर हो, लुम्बिनीका तीनै मैदान निकै राम्रो बनेका छन्, अहिले ४६ खेल सबै यही हुने भएको हो’ उनले भने–‘जिन्दगी यसैमा बिताएका मान्छेलाई यो निकै खुसीको कुरा हो, प्रदेशका खेलाडीलाई यसले थप ऊर्जा थप्ने छ ।’
यो खेलमा जम्मा ४६ वटा खेल हुनेछन् । त्यसमध्ये अहिले छानिएका रुपन्देहीको सिद्धार्थमा १७, एक्ट्राटेकमा १६ र दाङको लमहीमा १४ वटा खेल हुनेछन् । अध्यक्ष गुरुङका अनुसार रुपन्देहीको खेल मैदान एयरपोर्टबाट करिब ४ किलोमिटरमा भएको र होटल पनि प्रशस्त भएकाले व्यवस्थापनमा कुनै समस्या नहुने र लमहीमा पनि उस्तै सहज हुनेछ ।
‘गतवर्ष पनि हामीले ११ वटा खेल खेलाएका थियौं, हामीलाई सबै अनुभव छ, १० वटा टीमसँगै सबै प्रदेशका संघका पदाधिकारी, सबै खेलाडी, क्यानका सबै पदाधिकारी तथा अनय शुभेच्छुक समर्थक सबै आउने हुँदा यहाँको वातावरण धेरै राम्रो हुनेछ’ गुरुङले भने ।
तीन स्थानमा कस्ता छन् खेल मैदान ?
भैरहवाको अत्याधुनिक सिद्धार्थ रंगशालामा क्रिकेट मैदानका अलावा अभ्यास गर्ने ठाउँ र एकेडेमीसमेत छ। नेपालमै जिल्लास्तरमा ५० ओभरको १ दिवसीय म्याच हुने पहिलो रंगशालाका रूपमा परिचित छ, सिद्धार्थ रंगशाला। यस रंगशालाबाट करिब १०० जना अन्तर्राष्ट्रिय र २०० भन्दा बढी राष्ट्रिय खेलाडी उत्पादन भएको यहाँबाट उत्पादन भएका खेलाडीको भनाइ छ ।
कुनैबेला मेला महोत्सव र राजनीतिक सभा गर्ने स्थलका रूपमा सीमित यो रंगशाला अहिले भने देशभरका क्रिकेटप्रेमीको ध्यान केन्द्रित गरिरहेको छ । नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण योगदान दिएको यो मैदानमा अहिले पिएमकपका १७ खेल हुने भएका छन्।
अस्ट्रेलियामा व्यवसाय गर्दै आएका गुल्मीका कुँवरको लगानीमा तिलोत्तमा नगरपालिका– १७ मा निर्माणाधीन एक्ट्राटेक ओभल निजी क्षेत्रबाट बनेको देशकै पहिलो व्यावसायिक क्रिकेट मैदान हो । २०८० साल जेठ २९ गते शिलान्यास भएको स्टेडियम ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरी सम्पन्न भएको थियो ।

यो मैदानमा गत वर्षको फागुनयता एक सय भन्दा बढी खेल भइसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो । यहाँ नेपालमै पहिलोपटक फल्ड लाइटपूर्ण रूपमा जडान भई डे नाइट म्याच खेलाउन सकिने यसका प्रबन्धक विनोद कुँवर बताउँछन् ।
प्रतियोगिताका लागि दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तयारी तीव्र पारिएको छ । मैदान सम्याउने, पिच निर्माण, दर्शकदीर्घा व्यवस्थापन, सुरक्षा संरचना मजबुत बनाउने तथा अन्य भौतिक पूर्वाधार मर्मत कार्य तीव्र गतिमा भइरहेको नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव तथा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानका संयोजक कैलाश रोकाले जानकारी दिए । नेपाल क्रिकेट संघ (क्यान) को टोली, लुम्बिनी प्रदेश क्रिकेट संघका पदाधिकारीहरू स्थलगत निरीक्षण गरेर यसलाई टुंगो लगाएका हुन् ।

नेपाल क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैंयाका अनुसार प्रतियोगितामा दर्शकको उपस्थिति उत्साहजनक बनाउन टिकट व्यवस्थापन, सुरक्षा योजना, र स्वास्थ्य सहायता सेवाहरूको तयारी भइरहेको छ । लमही, भैरहवा, बुटवललगायत स्थानबाट दर्शकको उल्लेखनीय उपस्थिति रहने अनुमान गरिएको छ ।
स्थानीय खेलप्रेमी प्रेम पुलामी भन्छन्, ‘हाम्रो मैदानमा यति ठूलो प्रतियोगिता हुन लाग्दा हामी निकै उत्साहित छौं ।’ लमही नगर बिकास समितिले आफ्नो झन्डै १० करोडको लगानीमा लमहीमा क्रिकेट मैदान निर्माण गरेको लामो समय गौचरनमा परिणत भएको थियो । पछिल्लो चरणमा राष्ट्रियस्तरका प्रतियोगिता यहाँ नियमित हुन थालेका छन ।

Leave a Reply