प्रचण्डलक्षित ओलीको टिप्पणी- टिकटक प्रतिबन्ध लगाउनेहरु अहिले जे पनि बोल्न पाउनुपर्छ भनेर उफ्रिँदैछन् (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट गरेका छन्।

ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यावसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजो सँगै रहेर मस्यौदा गरेका केही मान्छेहरुले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् हुन लाग्यो भनेर सामाजिक सञ्जाल विधेयकविरुद्ध चर्का कुरा गरेर हल्ला गरेको टिप्पणी गरे।

उनले भने, ‘हामी कानून निर्माण कसरी छिटोछरितो बनाउने भन्नेमा छौं। केही मान्छले आफैंले हिजो मसँगै बसेर कानुनको मस्यौदा गरेका हुन्। अहिले सामाजिक सञ्जाल विधेयकका विषयमा हल्ला र चर्का कुरा गर्ने पार्टीहरु छन्, खासगरी माओवादी लगायतका, हामी सबै बसेर बनाएका हौं। टिकटकमा प्रतिबन्ध लगाएका हौं। अहिले खुवै हिमायति पल्टिएका छन्, बोल्न त पाउँनुपर्छ नि, जे पनि बोल्न पाउनुपर्छ भनेर, हिजो टिकटकमा प्रतिबन्धै लगाएका हुन् । हामीले खोलायौँ ।’

स्वतन्त्रताका नाममा देशको विरुद्ध, शान्ति सुरक्षा खल्बल्याउने र सामाजिक सद्भाव भड्काउने काम स्वीकार्य हुन नसक्ने बताए।
उनले थपे, ‘चिन्दै नचिनेको ठाउँमा गएर शान्ति भड्काउने र जभाभावी बोल्ने काम गर्नु हुँदैन । आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार प्रयोगमा असर पार्ने काम कसैले गर्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डको बैँकका आफूले पैसा राख्यो भन्ने जस्ता प्रश्न गरेर भ्रम फैलाइएको सन्दर्भमा प्रतिप्रश्न गर्दै भने, ‘मलाई किन त्यत्रो सम्पति चाहियो ? दुईवटा रोटी र अलिकति दाल खाने हो । मैले सम्पति लुकाउनुपर्ने केही कारण छैन । मेरो सबै जीवा खुल्ला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने र भ्रम फिँजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता होइन ।’

उनले सुशासनबाट मात्रै हामी समृद्धितिर देशलाई लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रुपमा रहेकाले छिटो छरितोरुपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको स्पष्ट गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *