रिंकु मृत्यु प्रकरण : पुरक जाहेरी लिएर प्रहरीले थाल्यो ४ मुद्दामा अनुसन्धान

लहान । सिरहा नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकू सदाको मृत्यु प्रकरणमा प्रहरीले पुरक जाहेरी लिएर ४ मुद्दामा अनुसन्धान थालेको छ ।

रिंकुको सामूहिक बलात्कार र रहस्यमय मृत्युपछि पीडित परिवारले ८ जनाविरुद्ध पुरक जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए । उनका अनुसार सामूहिक बलात्कारमा संम्लग्न तीनजना र घटना ढाकछोप गर्न दबाब दिने पञ्चायत समूहका ५ जना गरी ८ जनाविरुद्ध पुरक जाहेरी आएको हो । किशोरीकी आमाको तर्फबाट सामूहिक जबरजस्ती करणी, अपहरण, हत्या र लेनदेनमा घटना मिलापत्र गराएको चारवटा शीर्षकमा जाहेरी परेको छ ।

परिवारले विहीबार इलाका प्रहरी कार्यालय, लहानमा पुरक जाहेरी दिएको पाँच पञ्चमध्ये एक जनप्रतिनिधि छिन् । सिरहा नवराजपुर गाउँपालिका-१ भगवतीपुर तामासुईयाका वडा सदस्य नथुनी शाहविरुद्ध पनि जाहेरी परेको हो ।

यता घटना गाँउमै दबाउन पञ्च बसेका थिए । इलाका प्रहरी कार्यालय लहानले घटनामा सम्लग्न दुईजनाको जाहेरीबाट नाम हटाउन र सामूहिक जबरजस्ती करणीको मुद्दा फेरेर आत्महत्या दुरुत्साहनविरुद्ध जाहेरी दिन लगाएको पीडित परिवारको भनाइ छ ।

जाहेरी फेर्न लगाउने प्रहरीमाथि पनि अनुसन्धान सुरू

तीनजनाविरुद्ध सामूहिक जबरजस्ती करणी, अपहरण, हत्या र लेनदेन गरी घटना मिलापत्र गरेको विषयमा इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिन गए पनि दुई किशोरको नाम हटाएर एकजनाको मात्र नाम राख्न प्रहरीले नै दबाब दिएको सार्वजनिक भयो ।

प्रहरीले घटनामा संलग्न, लेनदेन गराउने पञ्च र जाहेरी फेर्न दबाब दिने प्रहरी अधिकारीमाथि समेत अनुसन्धान थालेको डीएसपी पासवानले नेपाल प्रेसलाई बताए ।

‘जाहेरी परिवर्तन गरेको, पीडितलाई दबाब दिएको भन्ने विषय अनुसन्धान गर्दैछौं । जाहेरी फेर्न बाध्य बनाएको देखिए विभागीय कारवाही गर्छौं । हामी यी सबै घटनाक्रमलाई अनुसन्धान गरिरहेका छौं । त्यस्तो देखिन आए निर्मम कारवाही गर्छौं’,पासवानले भने ।

गत माघ २६ गते साँझ शौच गर्न निस्किएकी किशीरीलाई गाउँकै तीन किशोरले मुख बाँधेर बाँसघारीमा लगी सामूहिक बलात्कार गरेका थिए । पञ्च भेलाको दबाबमा लेनदेनमा घटना मिलाइएपछि रिंकु माघ ३० गते साँझ ७ बजे झुण्डिएको अवस्थामा मृत भेटिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *