काठमाडौं । चर्चित गायक सुजन चापागाईंले अमेरिकामा गर्न लागेको सांगीतिक टुर अनिश्चित बनेको छ । आफ्नो टोलीका ८ जनाले भीसा आवेदन गरेकोमा एक जनाको मात्रै स्वीकृत भएको सुजनले जानकारी दिएका छन् ।
सुजनले आउँदो मार्चदेखि अमेरिकाको विभिन्न राज्यका विभिन्न शहरमा ‘आरोह अमेरिका टूर’ को तयारी गरेका थिए । सुजन चापागाईं एन्ड द ब्यान्डको सो कार्यक्रममा ८ जनाको टिम लैजाने तयारी थियो ।
तर, आज अमेरिकी दूतावासले भिसाका लागि अन्तरवार्ता गर्दा ८ जनामध्ये ७ जनालाई रिजेक्ट गरिदिएको छ । एकजनाको मात्रै भिसा लागेपछि पूर्वनिर्धारित कार्यक्रम प्रभावित बनेको सुजनले बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लामो समयदेखि नेपाली गीत–संगीतमार्फत नेपाली दर्शक श्रोतालाई कसरी गुणस्तरीय सृजना प्रेषण गर्न सकिन्छ भनेर मिहेनत गरिरहेको कुरा दर्शक श्रोताहरुले बुझिदिनु भएकै छ । लगभग २ वर्षको आन्तरिक तयारीपश्चात अमेरिकाबाट प्रत्यक्ष म्युजिकल लाईभ जर्नी पुन शुरुवात गर्ने बाचा पुरा गर्न नसक्ने जानकारी गराउंदै गर्दा नमिठो अनुभव पक्कै भएको छ । यो अनिश्चितताको कारण पर्न गएको असरप्रति सम्पुर्ण आयोजक, दर्शक तथा शुभचिन्तकप्रति क्षमा याचना गर्दछु । हामी पुनः भेटने छौं ।’

Leave a Reply