हिउँ हराएको कालिञ्चोक (तस्बिरहरू)

दोलखा । धार्मिक पर्यटकीयस्थलको आकर्षक गन्तव्य हो- कालिञ्चोक भगवती । धार्मिक यात्रासँगै रमणीय दृश्यावलोकनका लागि यहाँ पर्यटकहरू पुग्ने गर्छन् ।

कालिञ्चोक भगवती काठमाडौंको शोभा भगवती, काभ्रेको पलाञ्चोक भगवतीसहित सात दिदीबहिनीमध्येको एक रहेको जनविश्वास छ । यो समुद्री सतहबाट ३ हजार ८४२ मिटर उँचाइमा अवस्थित छ ।

कुरी बजारबाट एक घण्टाको उकालो छिचोलेपछि कालिञ्चोक भगवती मन्दिर पुगिन्छ । मन्दिर परिसरबाट गौरीशंकर हिमाल, रोल्वालिङ र लाङटाङ हिमशृङ्खला हेर्न सकिन्छ ।

कालिञ्चोक भगवती दर्शनसँगै यहाँ हिउँ खेल्न पर्यटकहरू पुग्ने गर्छन् । कालिञ्चोक भगवतीको दर्शन गर्नेहरू र हिउँ खेल्न पुग्नेहरूलाई मध्यनजर गर्दै कुरीमा थुप्रै होटल तथा लजहरू खुलेका छन् ।

काठमाडौंबाट करिब पाँच घण्टाको सडकमार्ग हुँदै कालिञ्चोक भगवतीको दर्शनसँगै यहाँ हिउँ खेल्न आउनेहरूको लर्को लाग्ने गर्छ । स्थानीयका अनुसार यहाँ माघ, फागुनमा बाक्लो हिमपात हुने गर्छ । तर, यस पटकको फागुनको पहिलो साता कालिञ्चोकमा न हिउँ पर्‍यो न त पर्यटकहरू झुम्मिए ।

हिउँ पर्ने हो भने कुरीका अधिकांश होटल तथा लजहरू पाहुनाले भरिभराउ हुने गर्छन् । तर, अहिले हिउँ नपरेका कारण यहाँका होटलहरु सुनसान छन् । फाट्टफुट्ट मात्रै पर्यटक देखिन्छन् । उनीहरू पनि मन्दिर दर्शन गर्छन् र फर्किहाल्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *