नेकपा एसमा कसले खोस्यो झलनाथको सम्मानित नेता पद ? फरक मतमा आफूलाई लेखे साधारण सदस्य

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी नेतृत्वप्रति सन्तुष्टि सुनिदैनन् । खनालले पार्टीको स्थायी र पोलिटब्युरो बैठकमा लिखित रुपमा ‘गलत निर्णयलाई सच्याऔँ, पार्टीलाई एकताबद्ध बनाएर अघि बढौं’ भन्दै लिखित प्रस्ताव नै राखे । त्यसलाई अध्यक्ष माधव नेपाल पक्षका नेताहरुले फरक मतको संज्ञा दिएका छन् ।

नेकपा एसको भोलिबाट केन्द्रीय कमिटीको बैठक पनि बस्दैछ । सो बैठकमा पनि नेता खनालले यो प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । उनले अहिले मात्रै होइन, यसअघि पनि पार्टी अध्यक्ष माधव नेपालविरुद्ध ‘फरक मत’ राख्दै आएका थिए ।

तर, गत असारमा भएको पार्टीको १० औं महाधिवेशनपछि तरंग अझै साम्य भएको छैन । महाधिवेशनले नेता खनाललाई सम्मानित नेता बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

तर, पार्टीका वरिष्ठ नेता बेदुराम भुसाल नेतृत्वको कार्यदलले तयार पारेको विधानमा विधान छापिएर आउँदै सम्मानित नेता केन्द्रीय कमिटीले तोक्ने व्यवस्था उल्लेख भएर आयो ।

त्यसपछि झलनाथले चर्को आलोचना गरे । उनले स्थायी र पोलिटब्यूरो कमिटीको बैठकमा मञ्चमा जाने समेत अस्वीकार गरेको थिए। यद्यपी, पछि अध्यक्षसँग मञ्चमा गएर बसे ।

झलनाथले असन्तुष्टि जनाएको विधानमा भनिएको छ, ‘केन्द्रीय कमिटी पदाधिकारीसहित २९९ सदस्यीय हुनेछ । यस २९९ मा केन्द्रीय कमिटीबाट मनोनीत हुने सदस्य संख्या र केन्द्रीय कमिटीले तोक्ने सम्मानित नेता एवं वरिष्ठ नेताहरूको संख्या थप हुनेछ ।’

विधानमा सम्मानित नेता केन्द्रीय कमिटीको बैठकले तोक्ने छापिएर आएपछि उनले बैठकमा पेस गरेको लिखित प्रस्तावमा आफ्नो पद ‘साधारण सदस्य’ मात्रै लेखेका छन् ।

तर, नेृता खनालले आपत्ति जनाएपछि महाधिवेशनको निर्णय फरक ढंगले विधानमा समावेश भएकाले सच्याउने निर्णय भइसकेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए ।

उनले भने, ‘पार्टीको विधान प्रकाश गर्दा केही प्राविधिक कमजोरीहरु भएका छन्। ती कमजोरीहरु सच्याउँने कुरा भएको छ । उहाँले (झलनाथ)ले केही कुराहरु औल्याउनुभयो। त्यो कुरालाई हामीले मनन गरेर महाधिवेशनले गरेको निर्णय विधानमा फरक ढंगले छापिएकाले सच्याउँने निर्णय गरेको छौं। अरु कुनै त्यस्तो विवाद छैन ।’

प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले नेता खनालले विधानमा छापिएको बिषयलाई असन्तुष्टि जनाएर आफ्नो प्रस्तावमा सामान्य सदस्य लेखेको बताए ।

उनले भने, ‘हामीले महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चुनेका हौं । अहिले विधान बनाउने क्रममा सम्मानित नेता केन्द्रीय कमिटीले चुन्ने भनेर उल्लेख भएर आएको छ । तर, त्यो उहाँको हकमा होइन । उहाँलाई त महाधिवेशनले नै चुुनिसक्यो नि । आगामी महाधिवेशनबाट सम्मानित नेता चयन गर्दा केन्द्रीय कमिटीले गर्ने भन्ने ढंगले आएको हो । त्यही कुरालाई असन्तुुष्टि राख्दै आफ्नो प्रस्तावमा सामान्य सदस्य लेखेर पेस गर्नुभएको हो ।’

उनले अनेरास्ववियु र युवा संघमा पार्टीले गरेको निर्णयमा नेता खनालले फरक मत राखेको बताए ।

उनले थपे, ‘उहाँले अपानीबाट अध्यक्षहरुलाई हटाइयो अधिवेशन गर्न दिइएन भन्ने कुरामा फरक मत राख्नुसभयो। तर, पार्टीले गरेको निर्णय त उहाँले पनि मान्नुपर्यो नि । त्यो उहाँको फरक मत मात्रै हो । त्यो परिवर्तन हुँदैन । फुल केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय सबैले मानेरै अघि बढ्नुपर्छ ।’

हिजोको पोलिटब्युरो बैठकमा नेता खनालले राखेको फरक मत भोलि केन्द्रीय कमिटीको बैठकमा राख्नसक्ने भएपनि पार्टीको निर्णय परिवर्तन नहुने जिकिर गरे ।

पार्टी नेतृत्व निरंकुश भएको आरोप

विधानको विषय सच्चाउने पार्टीले निर्णय गरेपछि नेता खनालले अनेरास्ववियू पुनर्गठन गरिनु नेतृत्वको निरंकुश र नोकरशाही शैली भएको आरोप लगाए । अध्यक्ष माधव नेपालले हालै जारी गरेको अपानिमा अनेरास्ववियूको अध्यक्षबाट आरती लामा र युवा संघबाट कृष्णकुमार विश्वकर्मालाई बिदा गरिएको थियो । लामा र विश्वकर्मा दुवै झलनाथ र महाससचिव घनश्याम भुसाल निकट मानिन्छन् ।

अहिले अनेरास्ववियूको जिम्मेवारी महेश श्रेष्ठलाई दिएपछि झनाल पक्षले समानान्तर गतिविधिको तयारी पनि गरिरहेको छ ।

त्यसबारे झलनाथले आफ्नो प्रस्तावमा भनेका छन्, ‘यो अवस्थामा फेरि टिके प्रथा, ठाडो बर्खास्तगी गर्ने, ठाडो नियुक्ति गर्ने, मन नपर्नेलाई हटाउने, मन परेकालाई ठाडो नियुक्ति गर्ने, छदा खाँदाका कमिटीहरू विघठन गर्ने, उनीहरूका आफ्ना सम्मेलन र अधिवेशन गर्न नदिने, मनोमानी ढंगले नियुक्ति गर्ने, संगठनका साथीहरुमा विभाजन ल्याउने तरिका भनेको गुटबन्दीपूर्ण, विभाजनकारी र विघठनकारी तरिका हो। हाम्रो पार्टीले यस्ता तरिकाको दृढतापूर्वक विरोध र अस्वीकार गर्नुपर्छ। यो निरंकुश तरिका हो, यो नोकरशाही तरिका हो ।’

उनले नेतृत्वको निरंकुश शैली स्वीकार्य नहुँने भन्दै पार्टी र जनसंगठन पनि नचल्ने भन्दै निर्णय सच्चाउन माग गरेका छन् । त्यसो त केही दिनअघि असन्तुष्ट विद्यार्थी नेताहरुको कार्यक्रममा पुगेर नेतृत्वको कार्यशैलीविरुद्ध विद्रोह हुनसक्ने चेतावनी दिएका थिए । जुन कुरा बैठकमा राखेको प्रस्तावमा पनि उल्लेख छ ।

असन्तुष्ट विद्यार्थी नेताहरुको भेलामा गएकोबारे खनालले भनेका छन्, ‘अनेरास्ववियू विभाजनको मुखमै पुगेको रहेछ । पार्टीका निर्णयहरू अपानीले नै प्रष्ट पारेकै रहेछ । मैंले त्यस बारेमा केही गर्ने कुरा भएन । पार्टी बैठकहरु आइरहेका थिए । स्थायी कमिटीले गरेको निर्णय भएकाले त्यही बैठकमा उठाउँला भनेर सोचें । तर युवा विद्यार्थीको संगठन भने ५ गते फागुनमा विभाजनकै लागि तम्तयार भईसकेको रहेछ । मैंले उनीहरूसँग कुरा गरेँ । उनीहरूले आफ्ना जनवादी अधिकारहरू माथि ठाडो अतिक्रमण भएको मार्मिक कथाहरु सुनाए ।

त्यो बिल्कुल जायज थियो । पार्टीले गरेको निर्णय गलत र निरंकुश थियो । त्यसैले मंैले उनीहरूलाई भने तपाईहरु किन त्यो बिन्दुमा पुग्नुभएको हो, म आफै आउँछु, तपाईँहरूका कुरा सुन्छुर यो गम्भीर समस्याको समाधान के हुन्छ त्यो पनि हामी बसेरै पत्ता लगाउन म सहयोग गर्छु भनें । त्यो समझदारी साथ म उनीहरुले आयोजना गरेको कार्यक्रममा गए ।

नेतृत्वले सबै जनसंगठनहरूप्रति आधारभूत रुपले समान नीति अख्तियार गर्नुपर्ने भन्दै कसैलाई काखा कसैलाई पाखाको नीति अपनाउनु नहुने बताए ।

‘कुनै जनसंगठनप्रति एक प्रकारको नीति कुनै अर्को जनसंगठनहरूलाई अर्को खालको नीति अख्तियार गर्ने पक्षपातपूर्ण डबल स्ट्यान्डरको नीति अपनाउन पाइँदैन’, खनालले भनेका छन्, ‘हाम्रा पार्टीका वरिपरि यतिबेला २५ वटा जनसंगठनहरू छन् । ती सबै जनसंगठनहरूलाई पार्टी महाअधिवेशनको भावना अनुरूप जनवादी ढंगले रूपान्तरित हुने र आवश्यकता अनुसार नेतृत्व हस्तान्तरण हुने समान अवसर दिनुपर्छ ।’

कुनै जनसंगठनका प्रमुखहरूलाई ठाडो निर्देशनका आधारमा पदबाट हटाउने, उनीहरूलाई जनवादी ढंगले निर्णय गर्न पनि नदिने र पार्टी अपानी जारी गरेर हटाउने अनि कुनैलाई उनीहरूको प्रक्रिया पूरा गरेर नेतृत्व हस्तान्तरण गर भन्ने गत स्थायी समितिको यो निर्णय बिल्कुल पक्षपातपूर्ण, डबल स्ट्यान्डरले युक्त र पूर्वाग्रही रहेको खनालको आरोप छ ।

पार्टी निर्णय नमान्ने प्रवृत्ति बढेको नेपालको निष्कर्ष

नेता खनालले पार्टी नेतृत्वमाथि प्रश्न उठाउँदै गर्दा अध्यक्ष नेपालले पनि अनुशासनहीन र अराजक प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाएका छन्। अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको निर्णयको उपहास गर्दै जथाभावी बोल्ने, लेख्ने प्रवृत्ति देखिएको उल्लेख गरेका छन् ।

नेता खनाललाई लक्षित गर्दै प्रतिवेदनमा भनिएको छ, ‘पार्टीभित्र अनुशासनहीन, अराजक र निराश प्रवृत्ति देखिने गरेको छ । पार्टी निर्णयको उपहास गर्दै जथाभावी बोल्ने, लेख्ने प्रवृत्ति देखिएको छ । तयस्ता प्रवृत्तीलाई कडाईका साथ लागू गर्नुको सट्टा त्यसलाई वेवास्ता गर्ने, प्रोत्साहित गर्ने वा संरक्षण गर्ने प्रवृत्ति देखिएको छ ।’

अनुशासनहीन, अराजक र निराश जमातले पार्टी विकास र विस्तारमा सकारात्मक भूमिका खेल्न नसक्दैन भन्दै त्यस्ता प्रवृत्तिका विरुद्ध दृढताका साथ जुध्नु पर्ने उल्लेख छ । उनले पार्टीभित्र जिम्मेवारी लिने तर पूरा नगर्ने प्रवृत्ति बढेको पनि औल्याएका छन् ।

 

Comments

3 responses to “नेकपा एसमा कसले खोस्यो झलनाथको सम्मानित नेता पद ? फरक मतमा आफूलाई लेखे साधारण सदस्य”

  1. ksp pyl Avatar
    ksp pyl

    सबै खोसिन्छ एकदिन मिस्टर । ओलि तानासाही कि माधव देख्दै छौ । के याद गर भने ओलि महान छन् । तिमीहरू पदका भोकाका लागि चाहिँ होईन फेरि ।

  2. RIC Avatar
    RIC

    कठै यस्ता दिन नि देख्नु पऱ्यो ! ओली विरुद्ध खोलिएको पार्टी एक अधिवेसन पनि पार नगरी डिजल्व हुने अवस्थामा ! कति पीर हो हामी भरौटे लाई !

  3. केदार पौड्याल Avatar
    केदार पौड्याल

    हेहे सम्मानित नेता रे , आफै मपाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *