काठमाडौं । गत आइतबार राति नेपाली विद्यार्थी प्रकृति लम्साल भारतको ओडिसास्थित केआईआईटी कलेजमा मृत फेला परिन् । त्यो सूचना महिला होस्टलबाट बाहिरिना साथ नेपाली विद्यार्थीहरूले आन्दोलन सुरु गरे । तैपनि कलेज प्रशासनले अटेर गर्यो । नेपाली विद्यार्थीको मृत्युमा समवेदनासम्म दिएन । आन्दोलनका जायज मागलाई वास्ता गरेन । उल्टै सबै नेपाली विद्यार्थीहरूलाई कुटपिट गर्दै कलेज निकाला गर्यो ।
नेपाली विद्यार्थीलाई रेलवे स्टेसनमा छोडेर अलपत्र पार्यो । महिला शिक्षकले ‘कलेजको खर्च तिम्रो देशको बजेट भन्दा धेरै’ भनेर धाक दिनसम्म भ्याइन् । एकातर्फ मृत्यु, अर्कोतर्फ विद्यार्थी र देशकै अपमान भइरहेको थियो । तर, सामाजिक संजालमा फैलिएको भिडिओ र उक्त भिडिओले निर्माण गरेको माहौलका कारण घटनाले नयाँ क्रमशः नयाँ मोड लिन सुरू गर्यो ।
विद्यार्थी दमन गर्ने कलेज विद्यार्थीलाई कलेजमा फर्काउन तयार भयो । रेलवे स्टेसनमा छोडिएका विद्यार्थीलाई लिन आफैँ अग्रसरता देखाउन बाध्य भयो । सुरूमा घटनामा दुःखमात्रै व्यक्त गरेर झारो टारेको कलेजले पछि माफी माग्न बाध्य भयो । त्यत्तिले नभएर कर्मचारीहरूलाई निकाला गर्यो । हिंसा गर्ने युवक र अरु पाँचजना पक्राउ परे । नेपालीलाई अपमान गर्ने महिला शिक्षकले सार्वजनिक माफी माग्न बाध्य भइन् । कलेजले प्रकृति लम्सालको नाममा छात्रवृत्ति स्थापनाको घोषणा गर्यो । तीन दिनमा यी सबै काम फास्ट ट्रयाकमा भए ।
भारतसँग जोडिएका अरु विभिन्न नागरिक स्तरका घटनाहरूमा भन्दा छिटो यसले काम गर्यो । किन यस्तो भयो ? यसमा विभिन्न पक्षको विभिन्न भूमिका देखिनेगरी आएको छ । र, तीनै भूमिकाबारे विस्तृतमा चर्चा गरिएको छ ।
१. सामाजिक सञ्जालमा भिडिओ भाइरल
प्रकृति लम्सालको घटनाले यत्ति चाँडै एक खालको निचोड निकाल्नमा मुलतः सामाजिक सञ्जालको भिडिओले काम गरेको देखिन्छ । नेपाली विद्यार्थीहरूले सबै भिडिओ खिचे । उनीहरूले प्रमाण बलियो बनाए ।
चाहे होस्टलको बन्द कोठामा महिला विद्यार्थीहरूलाई देशको नाममा गरिएको अपमानको सवाल होस् वा सुरक्षा गार्डले गरेको ज्यादती होस्, सबै भिडिओमा कैद गरियो । यसले न्यायिक प्रक्रियालाई फास्ट ट्रयाकमा लैजान माहोल बढायो । माहोलले नेपाल र भारत दुवै देशका सामाजिक संजाल प्रयोगकर्ताहरू गम्भिर रुपमा यो मुद्दामा जोडिएर नेपाली विद्यार्थीहरूलाई साथ दिए ।
२. नेपाली विद्यार्थी संगठनहरूको आन्दोलन
भारतमा प्रकृति लम्सालको मृत अवस्थापछि आन्दोलनरत नेपाली विद्यार्थीहरूलाई भएको दमनमा नेपालका विद्यार्थी संगठनहरू आन्दोलित भए । सत्ताधारी दल नेकपा (एमाले) को अनेरास्ववियु, नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ र माओवादीको अखिल (क्रान्तिकारी) लागायतका नेपाली विद्यार्थी संगठनहरूले आन्दोलन गरे । अनेरास्ववियुले त भारतीय दूतावास अगाडि गएर प्रदर्शन नै गर्यो ।
३. भारतीय विद्यार्थी संगठनहरूको दबाब
आन्दोलन नेपालमा मात्रै भएन । भारतमा पनि भयो । भारतका विभिन्न संगठनहरूले आन्दोलन गरे । विरोध गरे । आन्दोलनमै उत्रने चाहिँ राष्ट्रिय स्वयंसेवक संघको निकट भएर काम गर्ने अखिल भारतीय विद्यार्थी परिषद् थियो ।
भारतीय राष्ट्रिय कंग्रेसको विद्यार्थी संगठन नेसनल स्टुडेन्ट्स युनियन अफ इण्डिया तथा भारतको वामपन्थी विद्यार्थी संगठन अल इण्डिया स्टुडेन्ट्स युनियनलगायतले विज्ञप्ति जारी गरेर दबाब दिए । नेपालका विद्यार्थी संगठनहरू अनेरास्ववियु, नेपाल विद्यार्थी संघदेखि प्राज्ञिक विद्यार्थी परिषद नेपालले समन्वय गरेका थिए । यसले पहिलोपटक नेपाल र भारत दुवै देशका विद्यार्थी आन्दोलनलाई जोडेको थियो । अहिले आएर किट कलेजका अरु विद्यार्थीहरूले पनि नेपाली विद्यार्थीको साथ दिएर आन्दोलन गरेका कुरा सार्वजनिक भइसकेका छन् ।
४. भारतीय मूलधार र प्रभावशाली न्यू मिडियाको साथ
भारतका मूलधारका मिडियाले यो मुद्दामा खुलेर साथ दिए । भारतीय हिन्दी, अंग्रेजी भाषाका अखबारदेखि विभिन्न टेलिभिजन च्यानलहरूले साथ दिएका थिए । सबैभन्दा धेरै र पहिलोपटक साथ दिनेमा ओडिसा टिभी थियो ।
भारतका मूलधारका मिडियामा सम्पादकीय पनि लेखिएको थियो । टाइम्स अफ इण्डियाले ‘भारत आफैंलाई सिकाऊ’ भनेर मंगलबार एक सम्पादकीय लेखेको थियो । यत्तिमात्रै होइन, भारतका प्रभावशाली पत्रकार तथा म्यागासेसे पुरस्कार विजेता रविश कुमारले पनि साथ दिएका थिए । अरु थुप्रै इन्फ्लुएन्सरहरूले पनि साथ दिए । रविश कुमारले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चासोपछि भारतीय पक्ष सतर्क भएर न्याय प्राप्तिको प्रक्रिया अघि बढेको बताए ।
५. प्रधानमन्त्रीको पहल, सरकार र नेपाली दूतावास सक्रिय
घटना हुनासाथ नेपाल सरकारले पहल लिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको समाचार आएगत्तै एक ट्वीट गरेर भारतस्थित नेपाली दूतावासका दुई अधिकारीहरू घटनास्थलमा गएर विद्यार्थीहरूसँग छलफलमा पुगेको उल्लेख गरेका थिए । परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले तारान्तार सामाजिक सञ्जालमा जानकारी दिएकी थिइन् । राणाले र खानेपानी मन्त्री प्रदीय यादवले किट कलेज संस्थापक अच्युता सामन्तासँग फोनमा कुराकानी गरेको भारतीय अखबार हिन्दूस्तान टाइम्सले उल्लेख गरेको छ ।
त्यसबाहेक भारतीय अधिकारीहरू, ओडिसाका शिक्षामन्त्रीलगायतसँग पनि डाक्टर आरजु राणा देउवाले संवाद गरेकी थिइन् । भारतस्थित नेपाली दूतावासले घटनाको ताजा अपडेट गरिरहेको थियो । यसले एकतर्फ सूचनाको पहुँच पुग्यो भने अर्कोतर्फ घटनाले ठूलो रूप लिन पाएन । सरकारी उपस्थिति प्रारम्भबाटै जोडियो । दूतावासबाट नेपाल प्रहरीका एसपी सञ्जीव शर्मा दाससहितको टोली कलेजमा पुग्यो ।
६. भारतीय दूतावास तथा ओडिसा सरकारको संवेदनशीलता
काठमाडौंस्थित भारतीय दूतावासले घटनाबारे सुरूआतबाटै पहल गरेको थियो । दूतावासले आफ्नो सामाजिक सञ्जालमा तारन्तार जानकारी पनि सार्वजनिक गरेको थियो । नेपाली अधिकारीसँगको छलफल तथा कलेज प्रशासनलाई दबाब दिन भारतीय दूतावासले सक्रिय भूमिका खेलेको थियो ।
यस्तै, ओडिसा सरकारका मुख्यमन्त्री, शिक्षामन्त्री र अरु सरोकारवालाहरूले घटनाबारे सार्वजनिक सूचना, सत्यतथ्य छानबिन तथा दबाब दिन देखिने भूमिका खेलेको थियो । दूतावासले नेपाली र अंग्रेजी दुवै भाषामा विज्ञप्ति जारी गर्दै साँच्चिकै संवेदनशीलता देखाएको थियो ।
नेपाल र भारत अति निकट र खुला सिमानामा रहेका छिमेकी भएकाले बेला-बेलामा अप्रिय घटनाहरू भइरहन्छन् । तर, प्रकृति लम्साल मृत्यु प्रकरणमा दुवै देशका सरकारी तहको सक्रियता, संवेदनशीलताका साथै दुवै देशका मिडिया र सामाजिक सञ्जालको भूमिका न्यायको पक्षमा खुलेर प्रकट भयो । नकारात्मकमात्र सोच्न र सकारात्मक कामको प्रशंसा गर्नै नसक्ने एउटा तप्काबाहेक अरुले यसपटकको पहललाई शिक्षाका रूपमा लिएका छन् ।
यद्यपि प्रकृति लम्साल प्रकरणमा उल्लेखित ६ पक्षले देखिनेगरी भूमिका खेले पनि अर्को समाचार पनि आएको छ । दुई सुरक्षा गार्ड र तीन प्रशासकहरू धरौटीमा छुटेका छन् । नेपाललाई अपमान गरेर गाली दिने महिला शिक्षिकाले माफी मागेकै आधारमा पक्राउ पर्नबाट जोगिएकी छन् ।
लम्साललाई मानसिक यातना र हिंसा गर्ने युवक एडभिक श्रीवास्तव भने छुटेका छैनन् । एकै कक्षामा पढ्ने श्रीवास्तवले यातना र अपमानपूर्वक धर्काएको अडिओ सामाजिक सञ्जालमा फैलिसकेको छ । दुई महिला शिक्षक पक्राउ नपर्नु, पाँच पक्राउ परेकाहरू धरौटीमा तत्काल छुट्नुले न्यायिक प्रक्रियामाथि आशंका उब्जाउने अवसथा बनाएको छ ।
भारतस्थित नेपाली दूतावासले घटनामा नेपाली पक्षलाई साथ दिएका भारतीय अधिकारीसँग समन्वय गरेर कानुनी मोर्चाको नेतृत्व गर्न आवस्यक छ । घटनामा जोडिएकाहरूलाई कानूनी कारवाहीको दायरामा ल्याएर एक उदाहरण पेस गरेर आगाडि घटनाहरू यसरी नदोहोरिने प्रत्याभूति गर्न बाह्रखम्बाको नेपाली दूतावासले पहल गर्न आवश्यक छ ।

Leave a Reply