माओवादी तराई-मधेश जागरण अभियानको लक्ष्य : आत्मसमीक्षसहित आफ्नो कुरा राख्ने, जनताको कुरा सुन्ने

काठमाडौं । नेकपा माओवाद केन्द्रका तराई–मधेश जागरण अभियानमा पार्टीका उपमहासचिवसम्मका नेताहरू अनिवार्य हिँड्नुपर्ने भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा हुने अभियान फागुन १२ गते झापाको कचनकवलको वानियानी बजारबाट सुरु भएर चैत्र ७ गते कञ्चनपुर पुगेर समापन हुने अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको परिपत्रमा उल्लेख छ।

परिपत्रमा भनिएको छ, ‘मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने, माओवादी पार्टीलाई जनतासँग जीवन्त रूपमा जोड्ने, पार्टी संगठनलाई स्थानीयस्तरसम्म विस्तार गर्ने, जनताबाट सुझावहरू संकलन गर्ने, जनता र पार्टी नेतृत्वबीचको सम्बन्ध विस्तार गर्ने आदि उद्देश्यलाई केन्द्रबिन्दु बनाइ अभियान सञ्चालन हुन्छ।’

फागुन महिनामा पूर्व-पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान सकेपछि ०८२ साल वैशाख महिनामा मध्य पहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन हुने उल्लेख छ।

अभियान एक जिल्लामा एक दिनको कार्यक्रम हुने र अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि हुने उल्लेख छ।

परिपत्रमा उल्लेख छ, ‘अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम हुने छ । कार्यक्रम तय गर्दा सामान्यतः बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थान सम्म स-साना कार्यक्रमहरू आयोजना गर्न सकिने छ ।’

अभियान टोलीमा सहभागी पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप-महासचिवहरूका साथै सांस्कृतिक टोली, सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता सहभागी हुने उल्लेख छ।

अभियान सञ्चालनको लागि स्वयंसेवकको व्यवस्था सम्बन्धित प्रदेश समितिहरूले गर्नुका साथै स्थानीय विशेषता सहितका सांस्कृतिक टोली, स्थानीय भेसभुसा, झाँकीहरू, स्थानीय पार्टी समितिहरूले तय गर्नुपर्ने परिपत्रमा भनिएको छ।

कांग्रेस र एमाले मिलेपछि सरकारबाट बाहिरिएको माओवादीले अहिले पार्टी पुनर्निर्माण गर्ने संकल्पकासाथ अघि बढेको छ।

विगतमा भएका कमीकमजोरी सच्चाउँदै जनताकहाँ गएर आफ्नो कुरा राख्न र जनताको कुरा सुन्दै जनतासँग पार्टीको सम्बन्ध सुधार गर्ने अभियानको लक्ष्य छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *