जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनमा वीरगञ्जका नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर बन्द गराइएकाे छ ।
मुख्यमन्त्री सिंह बुधवार वीरगञ्ज पुगेर सात नीजि अस्पतालको अनुगमन गरेका थिए । सो क्रममा इण्डो हस्पिटल अनुमति नलिई सञ्चालनमा रहेको खुलेपछि मुख्यमन्त्री सिंहले तत्कालै बन्द गराएका हुन् । त्यहाँ उपचाररत बिरामीलाई अन्यत्र सार्न पनि निर्देशन दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले मुख्यमन्त्री सिंहको निर्देशनमा इण्डो हस्पिटल बन्द भएको जानकारी दिए । उनका अनुसार इण्डो हस्पिटल कुनै निकायमा दर्ता छैन । अस्पतालको मापदण्ड पनि पुरा गरेको देखिएन ।
मुख्यमन्त्री सिंह नेतृत्वको अनुगमन टोलीले वीरगञ्जस्थित श्री भवानी हस्पिटल एण्ड रिर्सच सेन्टर, प्रभु हस्पिटल, नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर, सर्वोत्तम अस्पताल, आशाराम हस्पिटल र स्पर्श मल्टीस्पेस्यालिटी अस्पताल अनुगमन गरेका छन् ।
श्री भवानी हस्पिटल र स्पर्श मल्टिस्पेशलिटी हस्पिटलले नवीकरण नगरेको पाइएको छ । दुवै अस्पताललाई नवीकरण गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।
अधिकांश अस्पतालहरूले फोहोर व्यवस्थापनमा ध्यान नदिएको पाइएको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए । उनले भने, ‘फोहोर व्यवस्थापनमा अस्पतालहरूले लापरबाही गरेको भेटिएको छ । यसले संक्रामक रोगको जोखिम छ । त्यसैले अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्न पनि मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ ।’
मुख्यमन्त्री सिंहले जनकपुरधामबाट नीजि अस्पतालको अनुगमन सुरु गरेका थिए । उनको निर्देशनमा जनकपुरधाममा सञ्चालन अनुमति नलिएका आधा दर्जन अस्पताल बन्द भइसकेको छ ।

Leave a Reply