‘लाज शरणम्’ मुद्दामा निर्देशक समाजको आपत्ति- अदालतको आदेशले सर्जकलाई नराम्ररी झस्काएको छ

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को मुद्दालाई लिएर ‘नेपाल चलचित्र निर्देशक समाज’ले आपत्ति जनाएको छ।

बुधबार सामाजिक संजालमा एक विज्ञप्ति जारी गर्दै चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले चलचित्र ‘लाज शरणम्’को प्रचार सामग्री रोक्न आदेश दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

फाट्टफुट्ट आएका प्रचार सामग्रीको भरमा उच्च अदालत पाटनले चलचित्रमाथि अंकुश लगाउने आदेश दिएको आरोप विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ,‘कुनै पनि व्यक्ति, समाज, समुदाय, संस्कार र संस्कृतिको मानमर्दन गर्ने चलचित्रहरु सेन्सर बोर्डले जाँच गर्नुपर्नेमा फाट्टफुट्ट आएका प्रचार सामग्रीको भरमा चलचित्रमाथि अंकुश लगाउने आदेश जारी हुँदा करोडौं लगानी जोखिममा परेको छ।’

‘चलचित्रको कथाले कुनै व्यक्ति वा समुदायको व्यक्तित्व, संस्कार र संस्कृतिलाई आघात पुर्यायो कि पुर्याएन भनेर जाँच गर्नलाई चलचित्र विकास बोर्ड र चलचित्र जाँच पास आदि निकाय अस्तित्वमा छन। चलचित्र जाँच पास समितिसँग त्यस्ता व्यक्ति वा समुदायको मानमर्दन गर्ने चलचित्र रोक्का गर्ने अधिकार निहित हुन्छ,’विज्ञप्तिमा लेखिएको छ।

अदालतबाट आएको आदेशले सिर्जनशील सर्जकलाई नराम्ररी झस्काएको पराजुलीको भनाइ छ। भने निदेर्शक समाजले ‘लाज शरणम्’ र यस्तै प्रकृतिका कानूनी लडाइँमा रहेका अन्य चलचित्रहरुको साथमा रहेको ऐकवद्धता जारी गर्दै चलचित्रसँग सम्बन्धित संघसंस्थालाई गोलबद्ध हुन आग्रह गरेको छ।

यसका अलावा अध्यक्ष पराजुलीले भविष्यमा आउने सम्भावित चुनौतिहरुलाई मध्यनजर गरी परिपक्वताका साथ काम गर्न समेत आग्रह गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *