काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले संसदमा नागरिकको एजेण्डाले स्थान पाउन छाडेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै हिजो ओडिसा घटनाबारे सांसदहरूलाई बोल्न प्रतिबन्ध लगाएको आरोप लगाए ।
उनले भने, ‘अहिले सदनमा जनताको एजेण्डाले स्थान पाउँदैन, बरु मिडिया खपतको लागि आरोप-प्रत्यारोप, गर्ने दुर्व्यसनीको अड्डाजस्तै बनेको छ । केही दिनअघि प्रधानमन्त्रीसँग भएको सवालजवाफमा हाम्रो कुरुप चित्र देखेर दुनियाँ हास्यो । सायद सभामुखलाई पनि भित्रभित्रै लज्जाबोध भइराखेकै होला ।’
उनले आज मुलुकलाई अराजकता नभई धैयर्ता, संयमता र उच्च त्यागको आवश्कता परेको बताए ।
सांसद किरातीको भनाइ जस्ताको तस्तै-
भनिन्छ लोकतन्त्रमा संसद ऐना जस्तै हुनुपर्छ । संसदमा देश र जनताको तस्बिर देखिनुपर्छ । तर, त्यस्तो हुन सकेको छैन । हिजो मात्रै भारतको उडिसा राज्यमा भएको घटनाले देश स्तब्ध भएको बेला हाम्रो संसद बेखबर रह्यो । माननीयज्यूलाई यो विषयमा बोल्न प्रतिबन्ध जस्तै गरियो । आज बोल्न मिल्ने तर हिजो बोल्न नमिल्ने किन होला सभामुख महोदय ! के नियमावलीले छेक्यो कि नियतीले रोक्यो ? कि प्रक्रियामा त्रुटि भयो, वा हाम्रो मष्तिस्कमा पूर्वाग्रह भयो ।
दु:खका साथ भन्नुपर्छ, हाम्रो संसदमा नागरिकको एजेण्डाले स्थान पाउन छोड्यो । बरु मिडिया खपतको लागि आरोप प्रत्यारोप गर्ने र दुर्व्यसनीको अड्डाजस्तै संसद बन्दै गएको छ सभामुख महोदय । केही दिन अघि भएको प्रधानमन्त्रीसँगको सवाल जवाफमा हाम्रो कुरुप चित्र देखेर दुनियाँ हास्यो । सायद सभामुख महोदयलाई पनि भित्र भित्रै लज्जाबोध भइराखेको होला । सभामुख महोदय, आज मुलुकलाई अहंकार र अराजकता होइन, धैर्यता, संयमता, त्याग र उच्च नैतिकताको आवश्यकता परेको छ ।

Leave a Reply