प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै भीम रावलको १५ बुँदे टिप्पणी

काठमाडौं । एमालेबाट निकालिएपछि मातृभूमि जागरण अभियान चलाइरहेको नेता डा. भीम रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।

प्रधानमन्त्री ओलीका पछिल्ला काम कुराले के देश र जनताप्रतिको जिम्मेवार चरित्र नदेखाएको भन्दै १५ बुँदे आरोप लगाएका हुन्।

१५ बुँदे आरोप पत्रमा प्रधानमन्त्री ओलीले फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई कारबाही गर्नु त टाढाको कुरा स्पष्टीकरणसम्म पनि नसोधेको उल्लेख छ।

वक्तव्यमा भनिएको छ, ‘उल्टै राज्य र पार्टीका महत्त्वपूर्ण पद र अवसर दिने तर पार्टीका घोषित सिद्धान्त, नीति र कार्यक्रम विपरीत वा अमिल्दा काम र कुरा गरिनु हुन्न भन्ने आशयका साथ आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई ’कारबाही’को डन्डा चलाउने।’

भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याउने र त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोक्ने दुराशयले संक्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएको आरोप छ।

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूका प्रश्नहरूको उचित उत्तर दिनुको साटो प्रश्न सोध्नेहरूमाथि नै आक्रोश पोख्दै प्रधानमन्त्रीको जनउत्तरदायी कर्तव्य, गरिमा तथा प्रश्नोत्तर र संसदीय अभ्यासको नै खिल्ली उडाएको टिप्पणी गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *