सरकारले जलविद्युत उत्पादकलाई हात बाँधेर राख्यो : कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाँधेर राखिदिएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा १५ खर्ब लगानी भएको क्षेत्र अन्योलको अवस्थामा रहेको बताएका हुन् ।

सरकारले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने र १५ हजार ५०० विद्युत् निर्यात गर्ने लक्ष्य राखेको छ। यसकोलागि ६२ खर्ब रुपैयाँ लाग्ने अनुमान छ।

नेपालमा ऊर्जा उत्पादकहरू १ मेगावाट शुरु गरेकोमा अहिले क्षमता बढाएर १००–२०० परियोजना निर्माण गर्न सक्षम रहेको अध्यक्ष कार्कीले बताए। उनले ठुला आयोजनाको लागि मात्रै वैदेशिक लगानीकर्ता ल्याउनुपर्ने बताए।

संसदीय समिति र धितो पत्र बोर्डको कारण सर्वसाधारणलाई दिने सेयर रोकिएको बताए।

‘सरकारले १० प्रतिशत सेयर स्थानीय तहलाई दिनुपर्छ भन्ने कानुनी व्यवस्था छ,’ अध्यक्ष कार्कीले भने,‘स्थानीयले सेयर किन नदिएको भनी उत्पादकको गाडी फुटाइएको छ। धितो पत्र बोर्डले आईपीओ स्वीकृत नदिएसम्म उत्पादकले दिन सक्दैनौँ।’

लेखा समितिको निर्देशनले आईपीओ निष्कासन रोकिएको बताउँदै अहिले सच्चाउनु पर्ने बताए।

‘संघिय संसदकै लेखा समिति र अर्थ समितिबीच नै मत बाझिएको छ,’ उनले भने,‘हामी व्यवसायी आयोजनामा ध्यान दिनुपर्नेमा विभिन्न निकायमा धाउँदै जानु परेको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *