काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले ओडिसाको भुवनेश्वरस्थित किट विश्वविद्यालयमा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
दूतावासले सोमवार साँझ एक वक्तव्य जारी गर्दै उक्त विश्वविद्यालय, ओडिसा राज्यसँग निरन्तर संवादमा रहेको र नेपाली विद्यार्थीहरुको सुरक्षाका लागि पहल भएको बताएको छ । विश्वविद्यालयले विद्यार्थीहरुलाई हाेस्टेलमा बस्न र अध्ययन जारी राख्न भनेकाे अवगत गराउँदै स्थानीय अधिकारीद्वारा घटनाका छानबिन भइरहेकाे पनि दूतावासले उल्लेख गरेकाे छ ।
भारतमा नेपाली विद्यार्थीहरुको अध्ययनले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, ‘हामी किट विश्वविद्यालयका अधिकारीहरुसँग समन्वयमा छौं । घटनाको छानबिन भइरहेको पनि जानकारी गराउँदछौं । भारत सरकार नेपाली विद्यार्थीहरुको सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने कुरा पनि आश्वस्त पार्न चाहन्छौं ।’
विश्वविद्यालयमा बीटेक अध्ययनरत बुटवलकी नेपाली विद्यार्थी प्रकती लम्साल होस्टेलमा मृत भेटिएपछि न्यायका लागि नेपाली विद्यार्थीहरुले आवाज उठाएका थिए । विरोध हुने भएपछि विश्वविद्यालयले सबै नेपाली विद्यार्थीहरुलाई कलेज छोड्न निर्देशन दिएको थियो ।
नयाँदिल्लीस्थित नेपाली दूतावासकाे पहल, सामाजिक सञ्जालमा नेपाली र भारतीयहरुले समेत चर्काे विराेध गरेपछि विश्वविद्यालय लचक भएर पुन: हाेस्टेल आउन र पढाइ जारी राख्न अपील गरेकाे छ ।


Leave a Reply