केही जिल्ला सीडीओविहीन, सहसचिवहरू गृहको ‘बरन्डा’ मा

काठमाडौं । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी रिक्त छन् । तर, गृह मन्त्रालयमा भने सहसचिव ‘बरन्डा’ मा थन्क्याइएका छन् ।

गृह मन्त्रालयका अनुसार मकवानपुरमा सीडीओ र सहायक सीडीओ दुवै छैनन् । तत्कालीन सीडीओ तीर्थ चिलुवालको केहि दिनअघि अर्थ मन्त्रालयमा सरुवा भएको थियो । त्यस्तै सहायक सीडीओ ढोलक ढकाल सहसचिवमा बढुवा भइसकेका छन् ।

यस्तै ओखलढुंगाका सीडीओ नारायण ढकाल गत माघ १६ मा ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि त्यहाँ पनि खाली छ । खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की पनि गत माघ १८ मा उमेर हदकै कारण अनिवार्य अवकाशमा गएपछि कोही पठाइएको छैन ।

तर, गृह मन्त्रालयमा भने कतिपय सहसचिव जिम्मेवारी नै नपाएर ५ महिनादेखि बरन्डामा घुमिरहेका छन् । सहसचिव शशीधर घिमिरे ५ महिनादेखि जिम्मेवारीविहीन भएर मन्त्रालयमा हाजिर गर्नमात्र पुग्ने गरेका छन् ।

यस्तै सहसचिव सूर्य सेडाई, बन्धु बास्तोला, प्रेम भट्टराई र नारायण रिसाल पनि जिम्मेवारीविहीन छन् ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले रिक्त जिल्लामा सीडीओ पठाउने तयारी भइरहेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘त्यति धेरै जिल्लामा प्रमुख जिल्ला अधिकारी रिक्त भएको होइन । एक दुई जिल्लामा हो । कतिपय जिल्लामा एक दुई दिन मात्रै भयो रिक्त भएको । कोही रमना लिएर जान बाँकी नै छ भने मन्त्रालयमा आएका कोही सहसचिव आउन पनि बाँकी नै छ । जति सक्तो चाडैँ जिम्मेवारी दिएर पठाइन्छ ।’

Comments

One response to “केही जिल्ला सीडीओविहीन, सहसचिवहरू गृहको ‘बरन्डा’ मा”

  1. ललबहादुर मुखिया Avatar
    ललबहादुर मुखिया

    दुइ तिहाइको सरकारले यसरि योग्य जनशक्त्ति लाइ घाम तपाइ राखोस!

Leave a Reply

Your email address will not be published. Required fields are marked *