समाजवादी प्रेस संगठनमा नयाँ नेतृत्व, शम्भु श्रेष्ठ बने अध्यक्ष

नेकपा (एस) सम्बद्ध समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा शम्भु श्रेष्ठ चयन भएका छन् ।
आइतबार काठमाडौँमा सम्पन्न भेलाले उक्त निर्णय गरेको हो । सङ्गठनका उपाध्यक्षमा हृदय भुसाल, महासचिव रोहितकुमार दाहाल र कोषाध्यक्षमा भरतराज पोखरेल चयन भएका छन् ।
सङ्गठनका तत्कालीन अध्यक्ष विश्वमणि सुवेदी, उपाध्यक्ष शङ्कर पाण्डे, महासचिव रामकुमार एलन, कोषाध्यक्ष कृपा भण्डारीसहित सङ्गठनको केन्द्रीय कमिटीका बहुसङ्ख्यक सदस्यले एमाले प्रेस चौतारीसँग एकता प्रक्रिया अगाडि बढाएपछि रिक्त भएको पदमा श्रेष्ठसहितका पदाधिकारी चयन भएका हुन् ।
सङ्गठनका तत्कालीन अध्यक्ष सुवेदीको नेतृत्वमा प्रेस चौतारी फर्किने अभियान चलेपछि समाजवादी प्रेस सङ्गठनका अधिकांश प्रदेश, जिल्ला कमिटीसहित विगतमा प्रेस चौतारी पृष्ठभूमिका पत्रकारहरू चौतारीमा फर्किने लहर सुरु भएको छ ।
आइतबारको भेलामा उक्त सङ्गठनका सल्लाहकार उत्तर विष्टसहितका सहभागीले वरिष्ठ व्यक्तिबाट नभई सङ्गठनका पदाधिकारीभित्रबाट नेतृत्व चयन हुनुपर्ने भन्दै असहमति व्यक्त गरेका थिए ।
श्रेष्ठ उक्त सङ्गठनका संस्थापक अध्यक्ष थिए । २०७८ भदौ १० मा सङ्गठन निर्माण हुँदा उनी अध्यक्ष भएका थिए । २०८० जेठमा सम्पन्न महाधिवेशनबाट तत्कालीन वरिष्ठ उपाध्यक्ष सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *