छिमेकी नआएपछि आफन्तले उठाए मना दमाईको शव, दलितभित्रै पनि विभेद

कैलाली । बैतडीको सिगास गाउँपालिका- १ का शिक्षक प्रकाश दमाईले आफ्नो आमाको मृत्यु हुँदा समयमा मलामी पाएनन् । उनकी ६१ वर्षीया आमा मना दमाईको शनिबार मृत्यु भएको थियो ।

दलित र गैरदलित रहेको उक्त गाउँमा ६५-७० परिवार छन्, तर जातकै कारणा मनाको मलामी हुन कोही मानेनन् । जसले गर्दा शनिबार शव उठेन ।

गैरदलित समुदायले मात्र हाेइन दलित समुदायले पनि जातीय विभेदकाे व्यवहार देखाएका छन् ।  दलितहरुले अरु सहयोग गरे पनि सबैभन्दा तल्लाे जात भन्दै मलामी गएनन् ।

छिमेकी मलामी नभएपछि आज आफन्तहरूले शव उठाएका छन् । उनको शव अन्तिम संस्कारका लागि ट्याक्टरमा राखेर पाटन नगरपालिका- ६ सुर्नयागाडमा रहेको तिपडा मसानघाट पुर्‍याइएको छ । शवयात्रामा १९ जना सहभागी थिए । तीमध्ये २-३ जना मात्र गैरदलित हुन् ।

प्रकाश गाउँमा रहेको भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन्, तर उनलाई छिमेकी कसैले पत्याएनन् । मनाको मलामीका लागि छिमेकीले साथ नदिएपछि झन्डै अढाई सय किलोमिटर टाढा कञ्चनपुरको महेन्द्रनगर तथा दोधारा चाँदनी र बैतडीकै पाटन- ६ बाट आफन्तहरू पुगेका थिए । उनीहरु पुगेपछि आइतबार शवयात्रा सुरु गरिएको हो ।

आइतबार बिहान ११ बजे शवयात्रा भएको मलामी नरबहादुर साउदले बताए । छिमेकी जिल्ला डडेल्धुराबाट आफन्तको घरमा आएका साउदले शनिबार प्रकाशको घरमा पुगेर राति पनि सघाएका थिए । आइतबार बिहान शवयात्रामा सहभागी भएका उनले गैरदलित समुदायबाट दुई जनामात्र आर्यघाट पुगेको जानकारी दिए ।

‘अहिले दाहसंस्कार भएको छ । मलामी १९ जना थियौं’, उनले भने, ‘आफन्तहरू आउनुभयो अनि आज लास उठ्यो ।’

पुर्ख्यौली मसानघाट पाटनमा उनको दाहसंस्कार गरिएको हो । सिगास नजिकका जीप तथा ट्याक्टर व्यवसायीहरूले समेत लास बोक्न नमानेपछि पाटनबाट ट्याक्टर बोलाएर शवयात्रा गरिएको स्थानीयले बताएका छन् ।

सिगास- १ का वडा सदस्य धनीराम भट्टले राति १२ बजेसम्म आफू पनि प्रकाशकै घरमा शव कुरेर बसेको बताए ।

गाउँका अधिकांश व्यक्तिहरू रोजगारीका लागि बाहिर रहेको र केही सामाजिक मान्यताहरूका कारण शनिबार शव उठ्न नसकेको वडाध्यक्ष रामचन्द्र ऐरीकाे भनाइ छ । ऐरीका अनुसार स्थानीयले नै शवयात्राका लागि रकम उठाएर प्रकाशको परिवारलाई सहयोग गरेका छन् ।

Comments

3 responses to “छिमेकी नआएपछि आफन्तले उठाए मना दमाईको शव, दलितभित्रै पनि विभेद”

  1. Dharam Lama Avatar
    Dharam Lama

    कहिलेसम्म यस्तो अति रुढीवादी चलन रहेछ, मेरा देशका ठूलाबढा भनाउदा गाउँका मान्यजनहरु?

  2. ksp pyl Avatar
    ksp pyl

    शरिरमा सिक्री बाँधेको एउटा चुल्ठेले दलितलाई गृहमन्त्रीले हेप्यो भन्दै नौटंकी गरेको सुनिन्थ्यो । आज त दलितले दलितलाई छुवाछुत गरेको सुनियो । अब त्यो चुल्ठे के भन्छ ? सिक्री बाँधेर बैतडीको सिगास त पक्कै जाँदैन होला । डलर खाएर देशमा घृणा फैलाउन हिडेको दलाल किन जान्थ्यो बैतडी ?

  3. RK Avatar
    RK

    दलितका नाममा डलर खानेहरु ! कान खोलेर सुन । समाजमा दलित भनेर हेप्ने तिमेरु नै हो । वाहुन क्षेत्रीले कहिले त्यसो गरेका छैन । डलर खाएर डलरमै सुतेका दलितलाई लाज लाग्नु पर्ने हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *