माधव नेपालको दाबी- उत्तर कोरियासँग ट्रम्प र दक्षिण कोरियाको वार्ता हुनुमा मेरो योगदान रह्यो (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरिया र अमेरिकाका राष्ट्रपति तथा उत्तर र दक्षिण कोरियाका राष्ट्रपतिबीचको भेटवार्ता हुनुमा आफूले पनि योगदान गरेको बताएका छन् ।

समाजवादी प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले आफूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक्न खोज्दा पनि उत्तर कोरिया भ्रमण गरेर विश्व शान्तिमा योगदान दिएको बताए ।

नेपालले भने, ‘अमेरिका रिसाउँछ, जापान र दक्षिण कोरिया रिसाउँछन् भनेर केपी ओलीले उत्तर कोरिया भ्रमण जान दिएनन् । त्यसपछि तिनै देशका राजदूतले मकहाँ आएर रोक्न खोजे, तर म कसैको कुरा नसुनी गएँ । म गएर त्यहाँका नेताहरुसँग भेट गरेँ । म फर्केर यता आएपछि अचम्मै भयो । दक्षिण र उत्तर कोरियाका राष्ट्रपतिहरुबीच भेटघाट भयो । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका राष्ट्रपतिबीच सिंगापुरमा भेटवार्ता भयो । पछि तिनै देशका राजदूत फेरि मकहाँ आएर गजब पो भएछ भने । के जादू भयो पनि भने । किनभने विश्व शान्तिको सन्दर्भमा हामीले पनि केही भूमिका खेल्न सक्छौं ।’

पूर्वप्रधानमन्त्री नेपालले कम्बोडियाका राष्ट्रपतिले समेत कुनै बेला आफूलाई युद्धरत पक्ष र राष्ट्रपतिबीच दुवैलाई राखेर कुरा गराउन भूमिका खोजेको स्मरण गरे ।

नेपालले फिलिपिन्स र अफ्रिकाका नेताहरुले पनि आफूलाई त्यस्तो प्रस्ताव राखेको बताए । नेपालले हीन भावना राखेर होइन, विश्वलाई मिलाउन भूमिका खेल्न सकिने उनले बताए ।

Comments

5 responses to “माधव नेपालको दाबी- उत्तर कोरियासँग ट्रम्प र दक्षिण कोरियाको वार्ता हुनुमा मेरो योगदान रह्यो (भिडिओ)”

  1. manaia thompson Avatar
    manaia thompson

    यो माकुने बहुलायो|

  2. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    फेरि ट्रम्प राष्ट्रपति भएका छन् । सल्लाह माग्छन् हाेला । राम्राे सल्लाह दिनुस् है । सल्लाह नमागेर अपमा….न गर्ने हुन् कि ?

  3. Raj Avatar
    Raj

    हैट, पागल भएछ माकुने । ट्रम्पले अहिले जे गरिरहेका छन्, मेरै सल्लाहमा गरिरहेका छन् भनिदिन्छ कुनै दिन माकुनेले। जति बुढो हुंदै गयो, त्यतिनै हंसाउने भयो माकुनेले।

  4. Nick Kashyap Avatar
    Nick Kashyap

    कम्बोडियामा राजा छन्, राष्ट्रपति होइन । सपनाको कुरा गरेछन्, सम्झने पानी छम्कने।

  5. ksp pyl Avatar
    ksp pyl

    पुटिन ट्रम्प वार्ता पनि हुँदैछ रे । त्यो पनि माकुने कै कारण मात्र सम्भव भएको हो नि । कुरा सबैले बुझौ । हैट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *