पोखरा भ्रमण वर्ष २०२५ को घोषणा

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गरिएको छ । पोखरा महानगरपालिकाले नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा एक कार्यक्रम गर्दै पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेल, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतको उपस्थितिमा पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गरिएको हो । कार्यक्रम उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते हुँदा अर्थमन्त्री पौडेल र मेयर धनराज आचार्यले औपचारिक घोषणा गर्न पाएनन् । उनीहरुको अहिले काठमाडौंमा उपचार भइराखेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रमण वर्षको लोगो अनावरण गरे ।

भ्रमण वर्षमा विश्वभरिका र आन्तरिक गरेर २० लाख बढी पर्यटक पोखरा ल्याउने योजनाका साथ भ्रमण वर्षको सुरुवात गरिएको महानगरपालिकाले जनाएको छ । घोषणासभा अगाडि पोखराका विभिन्न स्थानमा भेला भई अनेकौं सांस्कृतिक झाँकीसहितको बृहत ¥याली निकालिएको थियो ।

पोखरा भ्रमण वर्षलाई लक्षित गर्दै महानगरका ३३ वटै वडामा कम्तीमा एक पर्यटकीय गन्तव्यको पहिचान, विकास तथा प्रवर्द्धन गर्ने नीति महानगरको छ । साथै सन् २०२५ को वर्षभरि नै पोखरामा विविध पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना हुने महानगरले जनाएको छ ।

महानगरले भ्रमण वर्षलाई सफल बनाउन हिमाल, ताल, गुफा, कोट, धार्मिकलगायत सुन्दर पर्यटकीय स्थलहरूले सजिएको पोखरालाई अझै समृद्ध बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा पूरा गर्नुपर्ने विभिन्न काम तथा योजनाहरूको लामो व्याख्यासहित भ्रमण वर्ष घोषणा गर्न लागिएको केही दिनअघि मेयर धनराज आचार्यले बताएका थिए ।

भ्रमण वर्ष सफल बनाउन पर्यटकलाई आकर्षणका लागि महानगरले विभिन्न छुटसहितको प्याकेज घोषणासमेत गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर कनेक्टिभिटीका लागि आवश्यक पहलकदमी चलाउने र छिमेकी एवं मुलुकका मुख्य सहरहरूमा सीधा उडानको व्यवस्था गर्न पहल गर्ने र पोखरा आउने पर्यटकलाई १० देखि १५ प्रतिशतसम्म विशेष छुट सुविधा दिने महानगरको जनाएको छ ।

संसारका विभिन्न सहरमा पोखराबारे प्रचारात्मक अभियान चलाउने, भ्रमण वर्षको अवधिभर स्वदेश र विदेशका ५-५ गरी १० शहरसँग भगिनी सम्बन्ध कायम गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई पोखरामा बैठक, इभेन्ट तथा भ्रमणका लागि आह्वान गर्ने महानगरको योजना छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *