बूढानीलकण्ठ पुगेर देउवासँग संस्थापनका नेताहरूको लविङ- आगामी नेतृत्व हाम्रै गुटबाट !

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरूले पनि १५औं महाधिवेशनबारे आन्तरिक छलफल थालेका छन् । १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा गुटमा रहेर लडेकाहरू आज बूढानीलकण्ठ पुगेर आगामी महाधिवेशनबारे छलफल गरेका हुन् ।

नियमित समयमा महाधिवेशन गर्दा ०८२ मंसिरभित्र भइसक्नुपर्छ । तर, पार्टीको विधानअनुसार थप एक वर्ष लम्ब्याउन सक्ने प्रावधान छ । त्यसमा संविधानलाई टेकेर ६ महिना पर धकेल्न सक्ने सुविधा देउवालाई छ । तर, ०८४ को चुनावअघि प्रधानमन्त्री भएपछि चुनाव गराउने रणनीतिमा देखिन्छन् ।

आजको बैठकमा पनि देउवा महाधिवेशनको मितिबारे खुलेनन् । तर, आफू निकटका नेताहरूलाई एकताबद्ध भएर अघि बढ्न निर्देशन गरे ।

भेटबारे प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महतले भने, ‘१४ औं महाधिवेशनमा सभापतिसँगै भएका नेताहरूबीच पार्टीलाई कसरी अगाडि बढाउने भन्ने छलफल भयो । शेरबहादुरजीले अहिलेसम्म पार्टीको नेतृत्व गर्नुभएको छ । उहाँसँग धेरै साथीहरू जोडिनुभएको छ । हामी एक भएर जान चाहन्छौं आगामी अधिवेशनमा पनि ।’

उनले सभापतिनिकट भएकाहरूले आगामी महाधिवेशनमा पनि एकै ठाउँमा भएर जान्छौं भनेर प्रतिवद्धता जनाएको बताए ।

उनले भने, ‘हामीले एकजुट भएर अघि बढ्छु भनेपछि उहाँले ठिक छ, तपाईंहरू मिलेर काम गर्नुस् भन्नुभयो । पार्टी अझै बलियो बनाएर लानुपर्छ भन्नेमा उहाँको जोड थियो ।’

आगामी महाधिवेशनमा आफूहरू भित्रबाटै नेतृत्व आउने सभापतिलाई जानकारी गराएको पनि महतले सुनाए ।

बैठकमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, शशांक कोइराला, गोपालमान सिंह, विजय गच्छदार, बालकृष्ण खाण, प्रकाशशरण महत, एनपी साउदलगायत सहभागी थिए ।

महतले भने, ‘हामीले तपाईंसँगै जोडिएकाहरूबाट नेतृत्व आउँछ । को हुन्छ सल्लाह गर्छौँ भनेका छौं । उहाँले हुन्छ तपाईँहरू मिलाएर अघि बढ्नुस् भन्नुभएको छ ।’

देउवापछि कांग्रेसको आगामी नेतृत्व सम्हाल्न उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहलगायत आकांक्षी देखिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *