निजामती सेवामा श्रेणीगत हटाएर १४औं तहसम्म राख्ने सहमति, अतिरिक्त सचिवमा सहमति जुटेन

काठमाडौं । निजामती सेवामा श्रेणीगत प्रणाली हटाएर तहगत प्रणाली राख्ने सहमति भएको छ । प्रतिनिधिसभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा विहीबार भएको संघीय निजामती सेवा विधेयकमाथि भएको दफाबार छलफलमा उक्त सहमति भएको हो ।

सरकारले श्रेणीगत र तहगत दुवै प्रणाली राख्नेगरी विधेयकमा प्रस्ताव गरेकोमा समितिमा दफाबार छलफलका क्रममा तहगत प्रणाली मात्रै राख्ने सहमति जुटेको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए ।

अब निजामती कर्मचारी सेवामा चौधौं तह रहने भएको छ । यद्यपि कतिपय सांसदले अतिरिक्त सचिवसमेत राखेर १५ औँ तह बनाउनुपर्नेमा जोड दिएका थिए । उक्त विषयको टुंगो पछि लगाउने गरी प्रस्ताव पारित भएको सभापति खतिवडाले जानकारी दिए ।

त्यस्तै बैठकमा दफा ७ मा रहेको कार्य विवरण र कार्यसम्झौतामा विषयमा पनि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले कुनै स्थानमा सरुवा हुनेबित्तिकै कार्यमूल्याङ्कन गर्न उचित नहुने धारणा राखेका थिए ।

सांसद रघुजी पन्तले कार्यसम्पादन मूल्यांकन गर्दा कार्य प्रकृति बुझेर काम सुरू गरेपनि मात्रै गर्नुपर्ने धारणा राखे । त्यस्तै सांसद हितराज पाण्डले कार्यसम्पादन मूल्याङ्कन गर्दा दुई वर्ष वा समयअवधि तोकेर सरुवा गर्न नपाइने व्यवस्था राख्नुपर्ने बताए ।

उक्त विधेयकमाथि निरन्तर छलफल गर्ने र छिटो निष्कर्षमा पुर्‍याइने खतिवडाले जानकारी दिए ।

Comments

One response to “निजामती सेवामा श्रेणीगत हटाएर १४औं तहसम्म राख्ने सहमति, अतिरिक्त सचिवमा सहमति जुटेन”

  1. ksp pyl Avatar
    ksp pyl

    हो यसरी छलफल गरेर टुङ्गायौ भने जनताको स्यावासी पाउनेछौ । सबैले आ- आफ्नो काम बढी गरौं देश आफै बन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *