रास्वपा प्रमुख सचेतक भन्छन्- दलसँग दलित समुदायको विश्वास टुटिसक्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक दलसँग दलित समुदायको विश्वास टुटिसकेको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकको आकस्मिक समयमा उनले सरकारले संविधान पनि नमानेको र दलित समुदायलाई हरेक वर्ष घातक र विक्षिप्त बनाइरहेको बताए

उनले भने, ‘यो सदनमा मेरा सबै आदरणीय नेता हुनुहुन्छ । मार्क्सवादी आन्दोलनबाट खारिएका आएका, प्रजातान्त्रिक समाजवादबाट खारिएर आएका मसँगै देख्छु मेरा आदरणीय नेता छविलाल विश्वकर्मा, मसँगै देख्छु जीवन परियार, जो मान्छे हुनलाई विश्वविद्यालयका कोठा कोठामा दौडिरहेको, यो राज्य संविधान मान्दैन कि दलित समुदायलाई हरेक वर्ष घातक बनाउँछ, विक्षिप्त बनाउँछ । राजनीतिक पार्टीसँग त हामीलाई विश्वास टुटिसक्यो ।’

प्रमुख सचेतक परियारले जातीय विभेदविरुद्ध सरकारलाई ठोस कानून बनाएर समाधान दिएर जवाफ दिनका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘सम्मानित सदनमा हरेक वर्ष दलित समुदायमाथि हुने हिंस्रक हत्या, जातीय विभेदका विरुद्ध सरकारलाई ठोस कानून बनाएर समाधान दिएर जवाफ दिन म सभामुखमार्फत यो नम्र निवेदन गर्न चाहान्छु । म बिसे नगर्जी, टीआर विश्वकर्मालाई, माओवादी जनयुद्धमा सहिद भएको त्यो सार्कीको एउटा बालक छोरो दिलबहादुर रम्तेललाई सम्झिरहेको छु ।’

सर्लाहीको अन्तरजातीय विवाहमा राज्य संयन्त्रले नै दमन गरेको भन्दै उनले भने, ‘व्यवस्था परिवर्तन गर्‍यौं, संविधान निर्माण गर्‍यौं, तर आज हरेक वर्ष दलित समुदायले अन्तरजातीय विवाह गरेकै कारण मारिनुपर्ने, प्रेम गरेका कारण दलित समुदाय घरबास उठीबास लाग्नुपर्ने, अनि राज्यका संयन्त्र, राज्यका संस्थान दलितका अधिकार कुल्चन र दलितलाई मान्छे नहुन दिनका लागि प्रयोग हुनुपर्ने ?’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *