जसरी प्रेम कथानक चलचित्र हेरेर प्रेमिल अनुभूति गर्छौं, जसरी मोटिभेसनल चलचित्र हेरेर आफैंलाई उत्प्रेरित गर्छौं, जसरी इमोसनल चलचित्र हेरेर रुन्छौं, त्यसरी नै हरर चलचित्र हेरेर हामी डराउँछौं । हरर चलचित्रको खासियत नै दर्शकमा डरको तरंग पैदा गर्नु हो । डरको त्यो तरंग महसुुस गर्न नै दर्शक हलसम्म जान्छन् ।
प्रेम, खुसी, सफलता र दुखजस्तै डर पनि मानवीय गुण हो । त्यसैले त हलिउडमा हरर, सुपरन्याचुरल हरर, फोक हररहरुले बक्स अफिसमा धमकेदार कमाइ गरिरहेका हुन्छन् । बलिउडमै पनि हरर कमेडी चलचित्रहरुले बक्स अफिसमा उछाल कमाइ गरिरहेका छन् ।
सबैभन्दा पहिले दर्शकलाई चलचित्रको कथामा घुसाउनु, एक पात्र भएको महसुस गराउनु अनि भय र कौतुहलता सृजना गर्नु । त्यसपछि दर्शकको मुटु डरले ‘ढक्क’ फुलाउनु ।
एकपटक मात्रै होइन, यसरी बारम्बार डर पैदा गरिरहनु निकै नै चुनौतीपूर्ण काम हो । यसका लागि कथा मात्रै बलियो भएर पुग्दैन । कथाको प्रस्तुतीकरण पनि उत्तिकै सुन्दर र कलात्मक हुन आवश्यक हुन्छ ।
सानो ब्याकग्राउण्ड आवाजले मात्रै पनि धेरै ठूलो भूमिका खेलिदिन्छ । छिसिक्क आउने सानो आवाजको हर्जमा डरको ठूलो मेगाहर्ज हुन्छ । तर, यत्तिकै आवाज आउनसाथ दर्शक डराइहाल्ने भन्ने हुँदैन । डर पैदा गर्न पनि पृष्ठभूमि चाहिन्छ ।
त्यो पृष्ठभूमिमा कथाको जति अहम् भूमिका हुन्छ, उत्तिकै ठूलो भूमिका हुन्छ कलाकारको अभिनयको । उत्तिकै ठूलो भूमिका हुन्छ प्रकाशको संयोजन र सिनेम्याटोग्राफीको । उत्तिकै ठूलो भूमिका हुन्छ कस्ट्युम डिजाइन र सेटिङको ।
हरर चलचित्र भनेको शीशाका गुच्छाहरुको पिरामिड जस्तै हो, त्यहाँ एउटा गुच्छा मात्रै छिसिक्क तलमाथि भइदियो भने सिंगै चलचित्र भताभुंग हुन्छ । त्यसरी भताभुंग हुनबाट जोगिएको एउटा चलचित्र हो, ‘ममी’ । अहिले हलहरुमा लागिरहेको नेपाली हरर चलचित्र ‘ममी’ धेरै हदसम्म दर्शक तर्साउने आफ्नो उद्देश्यमा सफल छ ।
यो चलचित्र एक परिवारको कथामा आधरित छ । बाल्यकालदेखि नै मानसिक ट्रमाबाट गुज्रिएकी सपना (प्रियंका कार्की)को एक छोरी र एक छोरा छन् । श्रीमान् (सुलक्षण भारती) स्वयं मनोचिकित्सक हुन् । तर, सपनाको मानसिक समस्याले उसको निजी जीवनसँगै पारिवारिक जीवनमा पनि समस्या पैदा गरिरहेको छ । मानसिक समस्याको नियन्त्रणका लागि औषधि खाइरहेकी छन् ।

जति औषधि खाए पनि बाल्यकालीन ट्रमाले उनलाई लखेट्न छाड्दैन । सँगै १९ वर्षको उमेरमा बलात्कृत भएको पीडाले पनि लखेट्न छाडेको छैन । सँगै आफ्नो श्रीमान्को परस्त्रीगमनबारे पनि उनलाई थाहा छ । यी यावत् कारणले सपना बाइपोलर डिसअर्डरबाट ग्रस्त भएकी छन् । यो भनेको अत्याधिक रुपमा मुड स्वीङ हुने समस्या हो । मानसिक स्वास्थ्यसँग जोडिएको एक प्रकारको डिप्रेसन हो यो ।
उता सपनाकी श्रीमान् भने बाइसेक्सुअल छ । ऊ महिला र पुरुष दुवैसँग शारीरिक सम्बन्ध राख्छ । यता दुई बालबच्चासँग घर गृहस्थी चलाइरहेकी सपनालाई ट्रमाहरुले चैनले बस्न दिँदैन । उनलाई ओभरथिङ्किङको समस्या छ । बेलाबेला आफ्नो गल्ती नै नभएको घटनाको समेत आफूलाई दोष दिन्छिन् ।
सपनाले मानसिक विरामीबाट उन्मुक्ति पाउँछिन् त ? के सम्पूर्ण ट्रमाबाट बाहिर निस्कन सक्छिन् ? को हो उसको मानसिक समस्याको फाइदा लुटेर बलात्कार गर्ने मान्छे ? उक्त बलात्कारीसँग बदला लिन सक्षम हुन्छिन् त ? यिनै प्रश्नको जवाफ दिँदै चलचित्रको कथा अगाडि बढेको छ । र कथाले क्लाइमेक्ससम्म पुग्नलाई हररको बाटो अपनाएको छ ।
पहिलो हाफ त जबरदस्त छ । एउटा सुन्दर परिवारको नयाँ सदस्य बनेर कालो बिरालो आउँछ । बिरालोलाई जबरजस्ती छोरीले घरभित्र ल्याउँछे । जब कि बिरालोसँग सपनाको बाल्यकालीन ट्रमा जोडिएको छ । तर, छोरीप्रतिको स्नेहका खातिर ऊ बिरालोलाई घर भित्र्याउन राजी हुन्छे । यसपछि कालो बिरालोसँगै अगाडि बढेको कथा र कथामा आउने ट्वीस्टहरुले दर्शकलाई डरको आनन्द दिँदै जान्छ ।
दोस्रो हाफ थोरै स्लो छ । कथा ज्यादाजसो इमोसनल फ्लासब्याकमा अल्मलिएको छ । स्पष्टीकरणमा अल्झिएको छ । पहिलो हाफमा जस्तो आक्रामक रुपमा डरहरु पैदा गर्दैन । तर, सपनाको ट्रमाका जडहरु खोतल्दै कथा अगाडि बढेको छ । पहिलो हाफजस्तै आक्रामक हुन सकेको भए चलचित्र अझैं अब्बल हुने थियो ।
निर्देशक समर निरौलाले गज्जबले डिटेलिङमा काम गरेका छन् । प्रकाशहरुको संयोजन राम्रो छ । कस्ट्युम डिजाइनमा पनि राम्रो मिहेनत देखिन्छ । सिनेम्याटोग्राफी गज्जब छ । कथाको प्लट पनि गज्जबले डिजाइन गरिएको छ । यदि दोस्रो हाफमा रहस्यहरु खुलाउनतिर मात्रै कथालाई बढी केन्द्रित नगरिएको भए चलचित्र अझै उत्कृष्ट बनेर जान्थ्यो ।
प्रियंका कार्कीको अभिनय गज्जबको छ । उनको अभिनयले चलचित्रलाई थप रोचक बनाउन भूमिका खेलेको छ । सुलक्षण भारती, दिया मास्केको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन । बाल कलाकार जेभिस श्रेष्ठबाट अझैं निखारयुक्त अभिनय पस्कन सकेको भए थप सुगन्धको काम गर्ने थियो ।
यसअघि पनि हरर चलचित्रमा अभिनय गरिसकेकी प्रियंकाले ‘ममी’को गीत रिलिज कार्यक्रममा आफ्नो हरर चलचित्र हेरेर आफैं हाँसेको बताएकी थिइन् । तर, अहिले हलमा लागिरहेको ‘ममी’ भने हँसाउने जिम्मा कमेडी चलचित्रलाई दिँदै दर्शकमा डरको स्वाद चखाउन सक्षम देखिन्छ ।
साथै सोसल कमेडी ड्रामा र दक्षिण भारतीय चलचित्रका एक्सनको कपीमा मात्रै रुमल्लिँदै आएको नेपाली चलचित्र क्षेत्रमा अरु विधामा पनि काम गर्न सकिने उद्घोष ‘ममी’ ले गरेको छ । अरु बिधाका चलचित्रमा पनि मज्जाले लगानी गर्न सकिन्छ भन्ने बाटो समेत ‘ममी’ले खोलिदिएको छ ।

Leave a Reply