निकुञ्ज सुरक्षार्थ खटिएको सैनिकका प्रतिरक्षा गोली लागेर मकुना हात्तीको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र सौराहा आसपासका बस्तीमा निस्किने र स्थानीयलाई दुःख दिने गरेको जङ्गली हात्ती माकुनाको मृत्यु भएको छ ।

बुधवार चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा नेपाली सेनाको टोलीमाथि आक्रमण गरेपछि सैनिक टोलीले प्रतिरक्षाको लागि गोली प्रहार गर्दा माकुनाको ज्यान गएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार बुधवार दिउँसो सैनिक सहितको सुरक्षार्थ खटिएको नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि हात्तीले आक्रमण प्रयास गरेको थियो । कुमरोज सामुदायिक वनको लामिताल क्षेत्रमा टोलीको भेट माकुनासँग भएकोमा हात्तीलाई जंगल पठाउने क्रममा पटक पटक फर्किएर टोलीमाथि आक्रमण प्रयास गरेको थियो ।

माकुनाको मृत्युपछि बुधवार नै निकुञ्जले जारी गरेको विज्ञप्तिमा आत्म सुरक्षाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मरक्षाका लागि टोलीले २ राउन्ड ’वार्निङ’ (चेतावनी) हवाई फायर गरेको जनाइएको छ ।

‘२ राउण्ड बार्गेनिङ हवाई फायर गर्दा पनि मकुना नभागी हात्तीलाई आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसाद सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकोले ज्यान सुरक्षाको लागि अत्यन्त कठिन भएपछि स्विप टोलीले मकुनालाई ३ राउन्ड गोली हानेको थियो, निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

३ राउण्ड गोली हानेपछि मकुना केही पर भागेको मकुनाले फेरि फर्के आक्रमण गर्न आएपछि अर्को राउण्ड पनि गोली हान्नु परेको विज्ञप्तिमा भनिएको छ । अन्तिम गोली लागेपछि भने भागेको मकुना एक किलोमिटर पर पुगेर ढलेको अवस्थामा भेटिएको जनाइएको छ ।

उक्त हात्ती नउठेपछि उठाउने प्रयास पनि सफल नभएपछि पशु चिकित्सकले हेर्दा घाँटीको दाहिनेतर्फ गोली लागेको मकुना मृत घोषित गरिएको प्रमुख संरक्षण अधिकृत डा. पन्तले जानकारी दिए । उनले भने, ‘मकुनालाई बचाउन नसक्नु दुर्भाग्य भयो, हामी अति धेरै दुःखी छौँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *