धनगढी र डडेल्धुरा अर्जुन ट्रफीको सेमिफाइनलमा, घोडाघोडी-११ प्रतियोगिताबाट बाहिरियो

कैलाली । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा फ्रेन्ड्स क्लब डडेल्धुरा र डीसीए धनगढी पुगेका छन् ।

आजको हारसँगै दुई खेलमा अङ्कविहीन रहेको घोडाघोडी–११ पनि प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले समूह चरणका तीन वटै खेल खेलिसकेको छ । तीनमा दुई जित र एकमा पराजित भएको धनगढी चार अङ्कसहित अन्तिम चारमा पुगेको हो ।

डडेल्धुराले भने अहिलेसम्म दुई खेल खेलेकोमा दुबै खेलमा जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा डडेल्धुराले बिहीबार घोडाघोडी–११ को सामना गर्नेछ । उक्त खेलबाट समूह विजेताको टुङ्गो लाग्ने छ ।

बुधबार धनगढीको फाप्ला मैदानमा भएको दिनको दोस्रो खेलमा झापाले दिएको एक सय ६२ रन पछ्याएको घोडाघोडी– ११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६० रन मात्रै बनाउन सक्यो ।

उसका लागि दिनेश रावतले ४० बलमा ६४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, आयुव चन्दले २४, दीपक टमटाले १९ तथा कप्तान शेर मल्लले १० रन बनाए । झापाका अविशेक कार्कीले तीन तथा अरुण ऐरी र रमेश भट्टले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको झापाले २० ओभरमा छ विकेटको क्षतिमा एक सय ६१ रन बनाएको थियो । झापाका लागि १५ बलमा ४१ रनको आक्रामक पारी खेले । खेलका म्यान अफ द म्याच भएका उनले पाँच छक्का र एक चौका प्रहार गरे ।

यस्तै अविशेक कार्की र रोहन विकले समान ३७–३७ रन बनाए । पवन कार्कीले २० रन जोडे । घोडाघोडी–११ का शेर मल्लले दुई तथा नर सार्की, नरेन साउँद, सूर्य श्रेष्ठ र आयुव चन्दले एक–एक विकेट लिए ।

बुधबार नै भएको दिनको पहिलो खेलमा क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंले न्यु होराइजन बुटवललाई छ विकेटले पराजित गरेको थियो । बुटवलले दिएको एक सय छ रनको लक्ष्य पछ्याएको काठमाडौंले १७.४ ओभरमा चार विकेट गुमाउँदै जित हासिल गरेको थियो । काठमाडौँका शुभ कङ्शाकार ५६ रनमा अविजित रहे । उनी खेलका प्लेयर अफ द म्याच घोषित भए । बुटवलका तुलबहादुर थापाले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थरेको बुटवलले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय रन बनाएको थियो । उसका प्रथीक श्रेष्ठले ३७ रन बनाए । काठमाडौँका राज शाह र सूर्य तामाङले समान तीन–तीन विकेट लिए ।

दुई खेल खेलेको काठमाडौँको यो पहिलो जित हो । काठमाडौं अङ्क तालिकाको तेस्रो स्थानमा छ भने समान दुई खेल नै खेलेको बुटवल अङ्क तालिकाको दोस्रो स्थानमा छ । समूह ‘बी’मा खेलेका दुबै खेलमा जित निकालेको सिवाइसी अत्तरिया चार अङ्कसहित शीर्षमा छ ।

यस प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा प्रतियोगिता भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *