पोखरा । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई पराजित हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई २–० गोल हराउँदै मच्छिन्द्र क्वाटरफाइनलमा पुगेको हो ।
पहिलो हाफ दुवैतर्फ गोल हुन नसके पनि दोस्रो हाफमा २ गोल गर्दै मच्छिन्द्रले जित हासिल गर्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका आदित्य शाक्यले खेलको ७४औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई सुरुआति अग्रता दिलाएका थिए ।
उनी मनिष डाँगीको स्थानमा खेलको ६७औं मिनेटमा मैदान छिरेका थिए । आयुष घलानले दिएको पासमा शाक्यले गोल गरे । खेलको ८१औं मिनेटमा मच्छिन्द्रका स्टेफन कामाहाले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा खेल मछिन्द्रले २–० ले आफ्नो पक्षमा पार्यो । अब मच्छिन्द्रले सेमिफाइनल प्रवेशका लागि थ्री स्टार क्लबसँग खेल्नेछ ।
प्रतियोगिताको तेस्रो दिन भोलि चर्च ब्वाइज क्लब र एनआरटीबीच प्रतिष्पर्धा हुनेछ । उक्त खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।

Leave a Reply