६ महिनामा देखिने गरी काम गर्न नसकेको भन्दै सञ्चारमन्त्री आफैँ असन्तुष्ट (भिडिओ)

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले वर्तमान सरकारले ६ महिना देखिने गरी एउटा पनि काम गर्न नसकेको स्वीकार गरेका छन्।

सरकारमा प्रवक्ता समेत रहेका गुरुङले रफत सञ्चार क्लबको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सरकारमै बसेर सरकारको आलोचना गर्न त मैले मिल्दैन। तर, आलोचना गरिराख्न मन लाग्ने, देखेको कुरा भनिहाल्नुपर्ने मान्छे हुँ, यस पटक यो सरकारले ६ महिनाभित्र के काम गर्यो ? भन्दा देखिने गरी यही काम गर्‍यो भन्ने छैन हामीसँग।’

उनले राजनीतिक अस्थिरताको कारणले पनि देशमा ठूला आयोजनाहरूमा ढिलाइ भएको बताए।

उनले थपे, ‘राष्ट्रिय गौरवको हामीले गरेर सकिहाल्ने केही पनि छैन नि। तीन वर्षमा सकिने भनेको १३ वर्ष लागिरहेको छ। राष्ट्रिय गौरवको आयोजनाको काम गर्दा १५ २० वर्षसम्म लाग्ने, यस्तो प्रवृत्तिले समृद्ध मुलुक कहिले बन्छ ? समस्या के हो त हाम्रो ? राजनीतिक अस्थिरता भयो। सरकार फेरबदल भइरह्यो, मुख्य कारण त्यो पनि होला।’

उनले आफूले काम गर्न नसक्ने तर निर्वाचन प्रणालीलाई मात्रै दोष दिएर नहुने बताए।

उनले भने, ‘०७९ चुनाव भएपछि चार वटा सरकार त बनेको हो नि। त्यसैले हामीले निर्वाचन प्रणालीलाई दोष दिएर परिवर्तन गर्नुपर्ने कुरा गरिरहेका छौं। गाउँघरमा एउटा उखान छ नि, आफू नाच्न जाँदैन, मुखियाको आँगन टेढो भनेजस्तो हामीले काम गर्न नसक्ने अनि व्यवस्थालाई दोष दिने कुरा गलत हो।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *