सैनामैनामा शून्य फोहोरको अवधारणा साकार हुने निश्चित

बुटवल । ‘सैनामैना नगरपालिका रुपन्देहीलाई सैनामैना फोहर व्यवस्थापन केन्द्र निर्माणको लागि रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नं. १० मा रहेको राष्ट्रिय वनको ३.५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने,’ मन्त्रिपरिषद्को बैठकको मङ्गलवार सार्वजनिक भएको यो निर्णयको बुँदासँगै अब सैनामैनामा प्रदेश स्तरको फोहोर प्रशोधनको केन्द्र बनाउने बाटो खुलेको छ ।

फोहोरको प्रभावकारी र दीर्घकालीन व्यवस्थापनका लागि अब सैनामैनाले आफ्ना ११ वडासहित छिमेकका अन्य पालिका र छिमेकी जिल्लाका समेत पालिकाको फोहोरको अनुशासित व्यवस्थापन गर्ने भएको छ ।

शून्य फोहोरको विशेष अवधारणा अगाडि सार्दै २०७६ मा बुटवल उपमहानगर र कञ्चन गाउँपालिकासँग सैनामैनाले साझेदारीको सम्झौता गर्दै सैनामैना–१० खोरमोरमा रहेको खाली क्षेत्रमा आधुनिक प्रशोधन केन्द्र निर्माणको महत्त्वाकाङ्क्षी योजना अगाडि सारेको थियो ।

त्यसबेला बुटवलका प्रमुख शिवराज सुवेदी, सैनामैनाका प्रमुख चित्रबहादुर कार्की, कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णराज क्षेत्री र ती पालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित फोहोर मैला व्यवस्थापनको प्रशासनिक जिम्मेवारीमा रहेका अधिकृतहरूका बीचमा सम्झौता भई समिति समेत गठन भएको थियो ।

समितिमा सैनामैनाका प्रथम प्रमुख चित्रबहादुर कार्की संयोजक र बुटवल उपमहानगरका प्रथम उपप्रमुख गुमादेवी आचार्य सहसंयोजक तथा अन्य पालिका सदस्य रहेका थिए ।

त्यसबेला काम सुरु भएको केही समयमै वनका कारण योजना प्रभावित भयो र पालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले वन मन्त्रालय, विभागमा धाएको धाई गर्नुपरेको थियो । अहिले त्यसको नतिजा सकारात्मक आएको छ । सैनामैना मात्रै होइन यस क्षेत्रकै बासिन्दाका लागि खुशीको कुरा रहेको सैनामैनाका प्रमुख फणीन्द्रप्रसाद शर्माले बताए ।

प्राविधिक, वातावरणीय अध्ययन समेत गरेर पहुँच मार्ग विस्तार गरी थप प्रगतिका काम सुरु हुनै लाग्दा वनको केही क्षेत्र समेत त्यहीँ परेको भन्दै रोकिएको कामले अब सार्थकता पाउने भन्दै प्रमुख शर्माले यसका लागि पहल र सहकार्य गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । यो महत्त्वपूर्ण कामका लागि यहाँका अहिलेका पहिलेका जनप्रतिनिधि, कर्मचारीसहित केन्द्रमा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले विशेष पहल गरेका थिए ।

अहिले केपी ओली नेतृत्वको वर्तमान सरकारले फोहोर प्रशोधनको केन्द्र बनाउने गरी वन क्षेत्रको जग्गा उपलब्ध गराउने निर्णय गरेसँगै अब उक्त महत्त्वपूर्ण योजना साकार हुने निश्चित भएको छ । तराईका सहरमा जनघनत्व बढेसँगै फोहोरको प्रभावकारी व्यवस्थापनमा चुनौती थपिइरहेका बेला अहिलेको यो निर्णयले फोहोर व्यवस्थापन प्रभावकारी हुने भएको छ ।

फोहोरको प्रकृति अलग अलग गरेर जैविक मल बनाउने र उपयोग गर्ने बारेमा नागरिकको समेत चासो नगइरहेका बेलामा सैनामैना, बुटवल उपमहानगर र कञ्चन गाउँपालिका बीचमा नयाँ अवधारणाका साथ साझेदारीको सम्झौता भएको थियो ।

यी पालिकाको तयारी छिमेकका अरू पालिका सिद्धार्थनगर, ओमसतिया र कपिलवस्तुको बाणगंगा नगरपालिकासमेतलाई समेटेर एकीकृत प्रशोधन केन्द्र निर्माण गर्ने थियो ।

उक्त जग्गामा प्राविधिकहरू, वातावरणविद्हरू लगेर अध्ययन गराउनेदेखि वैकल्पिक ऊर्जा र जैविक मलका जानकारहरूसँग कैयाैंपटक त्यस बेलाका र अहिलेका जनप्रतिनिधिले विषय केन्द्रित छलफल गरेका थिए । वातावरणीय प्रभाव मूल्यांकन समेत गराएर थप प्राविधिक अध्ययनपछि प्लान्ट निर्माण गर्ने बाटो संघीय सरकारको यो स्वीकृतिसँगै अब अगाडि बढ्ने भएको छ ।

प्रस्तावित प्रशोधन केन्द्रका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका इञ्जिनियर, वातावरणका विज्ञ तथा परामर्शदाता सहितको विशेष टोलीले प्रस्तावित क्षेत्रको अध्ययन गराइको थियो । यहाँ दैनिक ४ सय टन सम्मको फोहोरलाई आधुनिक प्रविधिबाट व्यवस्थापन गर्ने योजनाका साथ काम भएको थियो ।

‘फोहोर थुपार्ने भन्दा पनि फोहोरलाई प्रशोधन गरेर बहु उपयोगमा ल्याउने गरी प्रशोधन केन्द्रको स्थापना गर्ने कुरा थियो, यस्तो प्रशोधन केन्द्र विश्वका धेरै मुलुकमा प्रभावकारी रहेको पाइएको छ,’ पूर्वप्रमुख कार्कीले भने, ‘त्यस्तै प्रविधिको प्रयोग गरेर फोहोरको आधुनिक व्यवस्थापन गर्न अब सैनामैनामले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बाटो खुलेको छ ।’

सैनामैना, बुटवल र कञ्चन तीनवटै पालिकाको संयुक्त फोहोर प्रशोधन केन्द्रको लागि जग्गा प्राप्तिको निर्णयले खुशी तुल्याएको उल्लेख गर्दै पूर्वप्रमुख कार्कीले अब दीर्घकालीन योजना साकार हुने निश्चित भएको बताए ।

नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी ओली, माननीय उपप्रधानमन्त्री पौडेललगायतलाई विशेष धन्यवाद सहित आभार प्रकट गर्न चाहन्छु’ कार्कीले सामाजिक सञ्जालमा समेत यसरी खुशी साटेका छन् ।

उनले सैनामैनाका हालका नगर प्रमुख फणीन्द्र शर्मा, उपप्रमुख बिना रानासहित प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलगायतलाई पनि बधाई ज्ञापन गरेका छन् । आयोजनाको सफल कार्यान्वयनले रुपन्देही र कपिवस्तुको सरसफाइमा काशेढङ्गा साबित हुने उनको विश्वास छ ।

वातावरण तथा पर्यावरणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका वातावरण विज्ञ चक्रपाणि शर्माले अब फोहोरको प्रकृति छुट्टाएर जैविक मल उत्पादन गर्ने तथा बायोग्यास निकाल्ने कामको विकल्प नरहेको बताउँदै संघीय सरकारले जग्गा उपलब्ध गराउनु यस क्षेत्रका लागि खुशीको कुरा रहेको बताए ।

कति संकलन हुन्छ फोहोर ?

एकताक सैनामैनामा घरमा जम्मा भएको फोहोर सार्वजनिक स्थलमा लगेर फाल्ने, वातावरणलाई प्रदूषित पार्ने गरी जलाउने जस्ता घातक प्रवृत्ति थिए । जब नगरमा २०७४ मा संघीयताको कार्यान्वयन गर्दै पहिलो पटक जनप्रतिनिधि निर्वाचित भए तब अनुशासित सरसफाइको मापदण्ड बनाएर प्रभावकारी व्यवस्थापन सुरु गरियो । जथाभाबी फोहोर फाल्न र जलाउन निषेध गरियो । घरघरबाट फोहोर संकलन गर्ने व्यवस्था भयो भने आधुनिक ढल प्रशोधन केन्द्रको समेत निर्माण भयो ।

सरसफाइमा अनुशासन सिकाउने काम पनि सैनामैनाले गरिरहेको छ । जथाभाबी फोहोर जलाउने कार्य रोकेको छ भने घरैदेखि फोहोरको प्रकृति छुट्टाएर व्यवस्थापन गरिँदै छ ।

बुटवलमा ७५ टन, सैनामैनामा ४० टन र कञ्चन गाउँपालिकामा २० टन फोहोर दैनिक रूपमा संकलन हुँदै आएको छ । जुन फोहोरमध्ये करिब ७० प्रतिशत कुहिने रहेको फोहोरको व्यवस्थापनमा लामो समयदेखि काम गर्दै आएका बुटवलका उद्यमी तथा लामो समयदेखि फोहोर व्यवस्थापनमा खटिँदै आएका बलभद्र पुरीको भनाइ छ ।

३० प्रतिशत नकुहिने तथा पुनः प्रशोधन गर्न मिल्ने खालको फोहोरलाई पनि घरैदेखि प्रकृति छुट्टाउन सकियो भने पुन प्रयोग गर्न सकिने पुरी बताउँछन् । प्रशोधन केन्द्र नहुँदा अहिले उपमहानगरसहित यहाँका पालिकाहरूले सबै फोहर एकै ठाउँमा फाल्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *