काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनी च्याप्टरले जर्मनीको फ्राङ्कफर्टमा पाँचौं साहित्यिक समारोह सम्पन्न गरेको छ ।
वसन्त पञ्चमीको अवसर पारेर गत माघ २० गते आयोजना गरिएको समारोहको अध्यक्षता च्याप्टर अध्यक्ष सुजाता घिमिरेले गरेकी थिइन् भने जर्मनीलगायत युरोपका १० मुलुकका लागि नेपाली राजदूत डा. शैल रुपाखेती प्रमुख अतिथिको रूपमा थिए ।
कार्यक्रममा बेल्जियम, नेदरल्याण्डलगायतका छिमेकी देशबाट समेत साहित्यकारहरूको सहभागिता रहेको थियो । विशेष वक्ताका रूपमा नियात्राकार जीवा लामिछाने तथा अनेसास अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा युरोप प्रतिनिधि डिल्ली अम्माईको सहभागिता थियो ।
विमर्श, पुस्तक चर्चा, हाजिरी जवाफ र गिती प्रस्तुतिसमेत रहेको उक्त कार्यक्रममा जर्मनीबाट सागर फुयाल, लिलाराज कार्की, शिशिर परियार, मनोजकुमार यादव, सौरभ कारञ्जित, दिनेश प्रधान, यज्ञ अधिकारी, कृतन गौतम, सुमन सिम्खडा, हरि हुमागाईं, अजित खड्का,ईनेशराज सुवेदी, बाबुराम, मनोजबाबु पनेरु, कपिल अर्याल, लुकास लुईटेल, रविकिरण काफ्ले, सञ्जय पौडेल, विमल रानाभाट लगायत दर्जनौं कवि तथा साहित्यकारहरूले आफ्नो रचना वाचन गरेका थिए ।
कार्यक्रममा हालसालै प्रकाशित खड्ग न्यौपानेको ‘जर्मनीःआप्रवासन र अनुभूति’ पुस्तकमाथि चर्चा गरिएको थियो। कार्यक्रममा लामो समयदेखि जर्मनीमा रही नेपाली साहित्य र समुदायप्रति योगदान पुर्याए बापत अवैतनिक नेपाली महावाणिज्यदूत रामप्रताप थापालाई विशेष सम्मान गरिएको थियो भने कार्यक्रमलाई महत्वपूर्ण सहयोग गरे वापत एनआरएनएका पूर्व अध्यक्ष कुमार पन्त तथा होटल ट्रिप ईनलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
सयौंको संख्यामा नेपाली साहित्यप्रेमीहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको संयोजक प्रतीक्षा पोखरेल रहेकी थिइन् भने कार्यक्रमको संचालन खड्ग न्यौपाने, गौरव तिवारी र सीमा ढुंगानाले गरेका थिए । कार्यक्रमको व्यवस्थापनमा निरज सोडारी र एलिजा हुमागाईंले सहयोग गरेका थिए ।

Leave a Reply