विधानमा भएको नीतिगत त्रुटि सच्याउन क्रान्तिकारीका ६ प्रदेश अध्यक्षको माग, कार्यक्रम वहिष्कारको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका ६ प्रदेश कमिटीले विधानमा भएको नीतिगत त्रुटि सच्याउन माग गरेका छन्। मधेश प्रदेश बाहेक सबै प्रदेश कमिटी अध्यक्षले केन्द्रीय कार्यालयलाई पत्र पठाएका हुन्।

पत्रमा भनिएको छ, ‘अहिलेको अवस्थामा २३ औँ राष्ट्रिय सम्मेलनको नेतृत्व चयन प्रक्रिया उमेरहद लागू भए पश्चात् भएको छ । उमेरहद लागू भए पश्चात् राजनीतिक पृष्ठभूमिमा प्रदेश अध्यक्ष र पदाधिकारीहरू भन्दा जुनियर साथीहरूले केन्द्र कै पदाधिकारीमा विजय हासिल गर्नु स्वभाविक नै हो भन्ने हाम्रो बुझाई छ ।’

उनीहरूले संगठनले प्रदेश अध्यक्षहरूलाई केन्द्रको उपाध्यक्ष सोसरह, प्रदेशको उपाध्यक्षदेखि प्रमुख सचिवसम्मलाई उपमहासचिव सोसरह र अन्य पदाधिकारीलाई सचिव सोसरह हुने व्यवस्था कायम गरी विधान सच्याउन माग गरेका छन्।

पत्रमा भनिएको छ, ‘हामीमाथि हुन गएको अन्यायलाई छिटो भन्दा छिटो सम्बोधन गरी परिपत्र जारी गर्न अनुरोध गर्दछौँ । अन्यथा हामी प्रदेश अध्यक्षहरू कुनै पनि कार्यक्रममा सहभागी हुने छैनौँ । पदाधिकारी बैठक, शपथ ग्रहण कार्यक्रम, स्ववियु कार्यशाला गोष्ठी लगायत कुनै पनि कार्यक्रममा सहभागी हुने छैनौँ । र केन्द्रीय पदाधिकारीहरूलाई प्रदेशको कुनै पनि कार्यक्रममा सहभागी गराउने छैनौँ भन्ने कुराको जानकारी गराउँदछौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *