कला, संस्कृति र विज्ञान प्रविधिसहित नेपाल–चीन मित्रता झल्काउने रंगीन वृत्तचित्र

काठमाडौं । नेपाल(चीनबीचको सांस्कृतिक, आर्थिक तथा अन्य प्राचीन मित्रताबारे नयाँ पुस्तामाझ जानकारी गराउने ध्येयले आइतबार राजधानी काठमाडौंस्थित दरबार हाइस्कूलमा केही छोटा तथा लामा भिडियोहरू प्रदर्शन गरिएको छ।

चाइना मिडिया ग्रुपले उत्पादन गरेको सो वृत्तचित्रमा नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म विकास गर्ने ध्येय राखिएको सीएमजी नेपाली सेवाका भाषा विशेषज्ञ लक्ष्मी लम्सालले जानकारी दिए ।

नेपालको एकसिंगे गैँडा र चीनको पाण्डा, नेपाल र चीनबीचको चिया संवाद, चीनको मोकाउ गुफा र नेपालको बौद्धनाथ, चीनको लसान बुद्ध र नेपालको लुम्बिनीका बुद्धबीचको सम्पर्क कुराकानी लगायतका वृत्तचित्रले विद्यार्थी तथा शिक्षकहरूमाझ ऐतिहासिक कालदेखिको नेपाल चीन मित्रताप्रति गहिरो छाप छोडेको छ।

भिडियोहरूमा नेपाल र चिनियाँ सीमामा रहेका हिमालदेखि सिचाङ (तिब्बत)मा रहेका भिक्षुहरूको जीवनशैली, सीमा क्षेत्रमा व्यापार गर्ने नेपालीका कथाहरू पनि देख्न सकिन्छ ।

कार्यक्रममा चिनियाँ नयाँ वर्ष अर्थात् स्प्रिङ फेस्टिभल गाला झल्किने भिडियो पनि देखाइयो । चीनमा यतिखेर सर्प वर्षको बिदा चलिरहेको छ।

दरबार हाइस्कूल भवनमै रहेको संस्कृत माविका सहायक प्रधानाध्यापक निश्चल अधिकारीले भाषिक कठिनाइ हुने चीनसँग नेपालको सांस्कृतिक समानता चाहिँ अधिक रहेको देख्न पाउँदा अचम्म लागेको बताए।

चीन चिन्न गाह्रो नरहेको तर नेपाली भाषामै बनाइएका वृत्तचित्रले सहजै चीन बुझिएको उनको प्रतिक्रिया थियो।

कार्यक्रममा प्रस्तुत नव वर्ष गालाले सबैको ध्यानाकर्षण गरेको थियो। सन् १९८० को दशकदेखि नव वर्ष गाला चिनियाँ टेलिभिजनबाट अविच्छिन्न प्रसारण हुने र चिनियाँहरुमाझ चाड पर्वको रौनक दिलाउने कार्यक्रम बनेको मानिन्छ। चिनियाँ नव वर्षको बिदा हालै राष्ट्रसंघ अन्तर्गत युनेस्कोमा पनि सूचीकृत भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *