रुपन्देही । राजस्व अनुसन्धान कार्यालय वटवलले गतवर्षभन्दा चालू आ.व. २०८१/८२ को पहिलो अर्धवार्षिकमा २१ वटा शीर्षकमा उल्लेख्य प्रगति गरेको जनाएको छ । धरौटी रकम पौने तीन सय बढी संकलन गरेर प्रगति बढाएको छ ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको पौष मसान्तसम्ममा धरौटी संकलन रकम .२ करोड २२ लाख ८० हजार १३३ रहेकोमा चालु आ.व.को सोही अवधिमा २७६.५२ प्रतिशतले वृद्धि भई ८ करोड ३५ लाख ६२ हजार ५८९ रहेको छ ।
कार्यालयले गत आर्थिक वर्षको पौष मसान्त सम्ममा २३ वटा विस्तृत अनुसन्धान सम्पन्न भएकोमा चालु आ.व.को सोही अवधिमा उजुरी संख्या ६५.२१ प्रतिशतले वृद्धि भई ३८ वटा विस्तृत अनुसन्धान सम्पन्न गरेको जनाएको छ ।
त्यसैगरी गत आ.वर्षको पौष मसान्त सम्ममा दफा १३क(२) वमोजिम लेखी पठाउने (आ.र.का./भन्सारमा) रकम रु.७० लाख ०६ हजार २ रहेकोमा चालु आ.व.को सोही अवधिमा ११८.६४ प्रतिशत वृद्धि भई १ करोड ५३ लाख १८ हजार ०९७ रुपैयाँ रहेको उल्लेख छ ।
गत आ.व.को पौष मसान्त सम्ममा विदेशी विनिमय अपचलनतर्फ धरौटी संकलन रु. ७२ लाख १३ हजार ३६८ रुपैयाँ रहेकोमा यस आ.व.को सोही अवधिमा ८२.३४ प्रतिशत वृद्धि भई रु.१ करोड ३१ लाख २८ हजार ३६० रहेको छ ।
कार्यालयले . विदेशी विनिमय अपचलनतर्फ जिल्ला अदालतमा दायर गरिएको मुद्धा संख्यामा ५० % ले वृद्धितर्फ पनि उस्तै प्रगति गरेको छ । गत आ.व.को पौष मसान्त सम्ममा २ वटा र यस आ.व.को सोही अवधिमा ३ वटा अदालतमा मुद्दा दायर भएका छन् ।
त्यसैगरी गस्ती परिचालनतर्फ,गतवर्ष द्रुत गस्ति ७ पटक गएकोमा यसवर्ष सोही अवधिमा ५७.१४ प्रतिशत वृद्धि भई ११ पटक गएको, यस अवधिमा १३५० बोरा तस्करीको अवैध चिनी पक्रेको छ भने करिव ८० लाख धरौटी तिराउदै गरेको, ६ पटक तस्करीको कपडा पक्रेर कपडा तस्करीमा संलग्न व्यक्तिहरु थुनामा राखी करिव १ करोड राजस्व जम्मा गराइएको, २६०० अवैध भेप चीनबाट अवैध रुपमा ल्याइ भारत पठाउन लाग्दा पक्रेको छ भने करिव १ करोड २० लाख बिगो/राजस्व तिराउन मुद्दा दर्ताको तयारीमा रहेको कार्यालयले जनाएको छ ।
त्यसैगरी भन्सारबाट पास भइ आएको विशेष आर्थिक क्षेत्र, भैरहवाको ब्रिलियन्ट लाइटिङ प्रालिको गाडी चेकजाँचबाट १ करोड १५ (पन्ध्र) लाख धरौटी राखेर छिट्टै मुद्दा दर्ता गर्न लागेको, टोयोटाको आधिकारिक बिक्रेता शुभलक्ष्मी अटो लिंकमा छापा हानेर १ करोड ९ लाख मागदाबीसहित मुद्दामा जाँदै गरेको, अवैध ह्वीस्कीको बिर्को लगायत नक्कली मदिरा उत्पादन गर्ने सामान पक्रेर करिब १ करोड २० लाखको मुद्दामा जाँदै गरेको, अलिम इन्टरप्राइजेजमा छापा हानी उक्त इन्टरप्राइजेजको स्टक वुक, माल सामान तथा खरिद बिक्री खाता भिडान गर्दा प्रोपाइटर अलिम मियाँको हकमा ३ करोड ४३ लाख ३९ हजार ४३३ विगो कायम भइ त्यसको शत प्रतिशत जरिवाना र हदैसम्मको कैदको मागदावीसहित अभियोगपत्र उच्च अदालत तुलसीपुर बुटवल इजलासमा माघ १५ मा दर्ता गराएको कार्यालयले आफ्नो प्रगतिमा जनाएको छ ।
कार्यालय प्रमुख विवेक घिमिरेका अनुसार यो बीचमा करिव डेढ दर्जन ट्रान्सपोर्टको गाडी चेकजाँच गरेर १ करोड ५० लाखभन्दा बढी राजस्व जम्मा गरेको, भीसीटीएस चेकजाँच गरेर अपचलनमा जरिवाना तिराएको पैसा ५० लाख कटेको, विदेशी विनिमय भारु २३ लाख ७५ हजार पक्रेर करिब १ करोड ४० लाखको बिगो तिराएर मुद्दा दर्ताको तयारी, एकतिस तोला अवैध सुन कपिलवस्तुबाट काठमाडौ जाँदै गरेको पक्रेर ५० लाखको सुन जफत गरी ७५ लाख जरिवाना तिराएर अनुसन्धान थालेको, तस्करी नियन्त्रणको लागि रुपन्देहीको सिमानाकामा रातभर १२ देखि ६ बजेसम्म हरेक दिन १ महिनादेखि नियमित जिल्ला प्रशासन, प्रहरीसहितको संयुक्त गस्ती परिचालन गरिएको, ३ महिनादेखि हरेक दिन नियमित र आकस्मिक गस्ती परिचालन भैरहेको जनाइएको छ ।
घिमिरेले सवै फाइलहरुको शाखागत जिम्मेवारी तोकेर पन्जिका बनाएर हालसम्मकै अभिलेख व्यवस्थित बनाइएको, विगत तीन ३ बर्षदेखि टुङ्गिएको मुद्दाको सदर स्याहा भएर राजस्व जम्मा नभएकोले राज्यको खातामा ५ करोड हालसम्म टुङ्गिएको मुद्दाको सदर स्याहा गरी जम्मा गरिएको, हालसम्मका सवै थन्काइएका विदेशी विनिमयका मुद्दाहरुको अनुसन्धान टुङ्ग्याएर अदालतमा मुद्दा दायर गरिसकिएको र राजश्वबारे सचेतना जगाउन सरोकारवालासँग निरन्तर अन्तरक्रिया तथा छलफल गरेर प्रचार प्रसार गरिएको जनाएका छन् ।

Leave a Reply