काठमाडौं । आफ्नो डिभोर्सका विषयमा आएका समाचारलाई लिएर गायिका एलिना चौहानले मुख खोलेकी छन् । विष्णु सापकोटासँग हतारमा विवाहको निर्णय लिएको र अहिले सहमतिमै डिभोर्स गर्न आँटेको उनको प्रष्टोक्ति छ ।
आज टिकटक लाइभमा आउँदै उनी पहिलोपटक श्रीमानसँगको सम्वन्धबारे खुलेकी हुन् । एलिनाले श्रीमानलाई गाली नगर्न सबैसँग आग्रहसमेत गरेकी छन् ।
उनले भावुक मुद्रामा भनिन्, ‘आफूले माया गरेको मान्छेलाई अरुले गाली गर्दा आफूले गाली खाएको भन्दा बढी पीडा हुँदो रहेछ । भोलि उहाँलाई केही भइहाल्यो भने म सहन सक्दिनँ । त्यसैले उहाँलाई कसैले नराम्रो नभनिदिनुहोला । गाली नगरिदिनु होला । जति गाली गर्नु छ बरु मलाई नै गर्नुस ।’
एलिनाको अभिव्यक्ति उनकै शब्दमाः
आफ्नो व्यक्तिगत विषयमा त्यति बोल्न मन लाग्दैन । यो विषयमा म आज पहिलोपटक बोल्दैछु ।
कुनै पनि बाबुआमाले मुटु फुटाएर कन्यादान गरेको छोरीको डिभोर्स कदापी चाहँदैनन् । झन् नेपालजस्तो देशमा त एउटा छोरीका लागि एकदमै अप्रिय हुन्छ । हामीले एकदम सोचेर लिएको डिसिजन हो । दुईजनाले सल्लाह गरेर परिवारबीच कुरा भएर डिसिजन लिएका छौं । अदालतको कुरा भित्रबाट कसरी बाहिर आयो भन्ने मलाई थाहा छैन ।
कतिपय कुरा इच्छाभन्दा पनि आवश्यकता हुन्छ । मनमुटाब हुँदाहुँदै सम्वन्धलाई निरन्तरता दिँदा पछि दुर्घटना हुन सक्छ । हाम्रो प्रेम विवाह भएको हो । विहे गर्नु हतारको डिसिजन थियो । प्रेममा हुँदा पनि हामीबीच खटपट परिराख्थ्यो । मैले सोचेँ– विवाह गरेपछि सबै ठिक हुन्छ । उहाँले पनि यत्तिको केटीसँग जिन्दगी बिताउन सकिन्छ भन्ने सोच्नुभयो ।
समय बित्दै जाँदा मैले सहन सकिनँ र उहाँले पनि सोचेजस्तो भएन । मैले उहाँको एक्सपेक्टेसन पूरा गर्न सकिनँ ।
आफूले माया गरेका मान्छेलाई अरुले गाली गर्दा आफूलाई नै गाली खाएभन्दा बढी पिडा हुँदो रहेछ । अहिले मलाई साथ दिन्छु भन्ने सोचिरहनुभएको छ भने साथ दिनुस । तर उहाँलाई नराम्रो नभन्नुहोला । बरु मलाई गाली गर्नुस । जिन्दगीमा कस्तो कस्तो भोगियो । म त खरानी भइसकेको मान्छे, आगोसँग डर लाग्दैन । मेरो जिन्दगी बिगार्ने जिम्मेवार म आफैं हो । हामीले जानी–जानी बिहे गरेको हौं । उहाँले म कलाकार हो भन्ने थाहा भएरै, मेरो आनीबानी जानेरै विहे गर्नुभएको हो । पछि योभन्दा पनि नराम्रो सिचुयसन नआओस भनेर राम्ररी कुरा गरेर नै छुटेको हो ।
दह्रो पनि कति हुनु । म के भइसकेँ समझमै आएको छैन । अनुभवबाट सिकेर नयाँ सुरुवात गर्न चाहन्छु । तपाईंहरुले सहयोग नगर्न नसके पनि वाधा नपुर्याउनुहोला । मेरो नम्बर छरपस्ट भएको छ । फोन आएको आएै छ ।
हाम्रो जिन्दगीको डिसिजन लिने अधिकार छ हामीलाई छ । बाँच्ने अधिकार छ । भोलि उहाँलाई केही भइहाल्यो भने मलाई झन् गाह्रो हुन्छ, त्यसले मलाई बाँच्न दिँदैन । त्यसैले उहाँलाई नराम्रो नभन्नुहोला ।
मेरोजस्ते आमाबाबु सबै छोरीहरुको होस । व्यक्तिगत कुरालाई मजाकको पात्र नबनाउनुहोला । कमाइ खानो भाँडो नबनाउनुहोला ।

Leave a Reply