आजदेखि अर्जुन ट्रफी सुरु हुँदै, उद्घाटन खेलमा ललित र कुशलको टिम भिड्दै

कैलाली । अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा डीसीए धनगढी र फेण्ड्स क्लब डडेल्धुरा भिड्दै छन्। खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ।

डीसीए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललित राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठलगायत खेलाडी मैदान उत्रिने छन्।

यस्तै फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्नेछन्। समूह ए मा रहेका दुवै टोली जितबाट प्रतियोगिताको शुरूआत गर्ने पक्षमा छन्। प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरूको सहभागिता रहेको छ।

सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा डीसीए धनगढी, फ्रेण्ड्स यूथ क्लब डडेलधुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा तथा समूह ‘बी’मा सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौं, न्यु होराईजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ। धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो।

उनका अनुसार प्रतियोगिताको पहिलो क्याच गर्ने दर्शकले नगद एक लाख रुपैयाँ पुरस्कार जित्नेछन्। धनगढीको ब्रेड बक्सले मैदान बाहिर बसेर छक्का भएको बल क्याच गर्ने दर्शकलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।

खल्ती एपले दैनिक रूपमा एक भाग्यशाली क्याच गर्ने दर्शकलाई एयर बडसहितको पुरस्कार दिनेछ।

धनगढी उपमहानगरपालिकाले फाप्ला क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। यो टी–२० फर्मयाटको प्रतियोगिता हो, जसमा झन्डै २० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। विजेता टोलीलाई १० लाख र उपविजेता टोलीलाई ५ लाख रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताको सर्वोत्तम खेलाडीलाई १ लाख रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीलाई ५०/५० हजार दिइनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

अर्जुन ट्रफी प्रतियोगिता धनगढीका क्रिकेट प्रेमी अर्जुन खड्काको सम्झनामा आयोजना गरिएको हो । स्वर्गीय खड्काले सुदूरपश्चिम क्रिकेटको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले धेरै नेपाली क्रिकेटर उत्पादन गर्न योगदान पुर्‍याएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *