समाजवादी मोर्चाः माओवादीलाई भर्‍याङ, नेकपा एसलाई ‘बुमर्‍याङ’

नेपाल पत्रकार महासंघको निर्वाचनमा काँग्रेस एमालेले गठबन्धन गरेर चुनाव लड्ने घोषणा गरे । माओवादी र नेकपा एकिकृत समाजवादीसहितका साना पार्टी निकटका पत्रकार संगठनहरु पनि पार्टीका इशारामा सकेसम्म खेलेर चुनावमा केही परिणाम हात पार्न एकजुट भएका थिए ।

त्यही सन्दर्भको कुरामा माओवादीको उपल्लो तहका एक नेताले मलाई माओवादीमा आउन जोडबल मात्र गरेनन्, बरु सकिन्न भने एमालेमै फर्किन सुझाउ दिँदै भने– ‘तपाईँ जत्तिको क्षमतावान् मान्छेले उचित अवसर पाउनुपर्छ, सानातिना दलतिर लागेर हुँदैन, सोच्ने बेला आयो’ भन्दै समाजवादी प्रेस संगठन छाडे मात्र ‘भलो’ हुने उपाय सुझाए । पत्रकार महासंघको चुनावको मुखैमा यस्तो कुरामा मैले प्रतिवाद गरिन । कुटनीतिक शैलीमा ‘अहिले चुनावमै लागौं, पछि कुरा गर्दै गरौंला’ भनेर टारेँ ।

यो प्रस्ताव ल्याउन उनलाई साथ दिने जग ‘समाजवादी मोर्चा’ थियो । मलाई आफ्नो पार्टीमा अफर गर्न उनले त्यसैको सहारा लिएर भनेका थिए ‘ढिला चाँडो प्रचण्ड र माधव मिलिहाल्छन्, समाजवादी मोर्चा त्यसैका लागि बनेको हो, बरु चाँडै गएर केही अवसर लिन सकिन्छ, प्रचण्डसँग समेत कुरा गरौंला ।’

सकिदैन भने बरु एमालेमा गएर भए पनि अवसर लिन र समाजवादी प्रेस संगठनबाट बाहिर आउन जोडबल गरे । उनले अघि भने– ‘तपाईँलाई समाजवादी बन्छ भन्ने विश्वास छ ? अहँ, यो त बन्ने आधारै छैन । कि एकता हुन्छ नभए कोही एमाले कोही माओवादी भएर सकिन्छन्, ढुक्क हुनुस् ।’

उनको विश्लेषणले म झस्किएँ । त्यस अघि केही समाजवादीका व्यक्ति माओवादी प्रवेश गरेका थिए । उनीहरुलाई मैले सोधेको प्रश्नको जवाफ पनि उही प्रकृतिको थियो, ‘पार्टी बन्ने भएन, माओवादीसँग एकता हुने जस्तो भयो । बरु पहिले गए केही अवसर पाइन्छ, पछि आएको भनेर पेल्दैनन् ।’ तिनको मनोदशा र माओवादी नेताको तर्कको सार उही थियो । ‘यो पार्टी बन्दैन ।’

समाजादी मोर्चा माधव नेपालले चलाइदिनु पर्ने, त्यसैमा टेकेर प्रचण्डले समाजवादीमाथि नै प्रहार गर्ने परिस्थितिमा यो मोर्चासँगको ‘मायाप्रेम’बाट नेकपा एसले ‘ब्रेकअप’ लिनुपर्छ । पार्टीको चिन्ता भन्दा मोर्चाको चिन्ता बोकेर नेकपा एस उँभो लाग्दैन । यही मोर्चाबाट कार्यकर्ताहरु कि माओवादी हुँदैछन्, कि एमाले । यसरी लडाकु बिनाको कमाण्डर बन्ने रहर माधव नेपाललाई किन लागेको होला ?

यहाँ लागेका धेरैजसोको अहिले मनोदशा यही छ । उनीहरु पार्टी बनाउने दुःख व्यहोर्न राजी छैनन्, बरु बनिबनाउ ठाउँमा छिरेर केही लिन चाहान्छन् । धेरै कार्यकर्तादेखि नेताको मनमा यसैले घर गरेको छ । यही मनोदशा बुझेर प्रचण्डदेखि गाउँसम्मका माओवादी नेताको काम समाजवादीका नेता कार्यकर्ता भड्काउन केन्द्रित छ, कि ‘ माथि पार्टी पछि मिलिहाल्छ, हामी यहाँ मिलिहालौं ।’

यही सन्र्दभमा समाजवादी प्रेस संगठनका विभिन्न प्रदेशका साथीहरुसँग कुरा गर्ने अवसर मिल्यो । मैले उनीहरुलाई समाजवादी मोर्चा बन्दा समाजवादीलाई के फाइदा भएको छ भनेर सोधें । उनीहरुले माथिकै परिस्थिति औंल्याए । तर, एकिकृत समाजवादीका शीर्ष तहका नेताहरुले यही मोर्चालाई जिल्ला तहसम्मै सक्रिय बनाउने बताइरहेका छन् । उनीहरुले सुनेका छैनन् सायद, समाजवादी मोर्चा रुपी घन माओवादीले नेकपा एसका तल्लो तहका कमिटीमा ठोकि रहेको आवाज ।

किन बन्यो समाजवादी मोर्चा ?

समाजवादी मोर्चाका १८ महिना अघि अर्थात् २०८० असार ४ गते निकै उत्साहका साथ घोषणा भएका १५ बुँदे प्रतिबद्धता स्वर्णिम सपनाजस्ता लाग्छन् । साँच्चै देश बचाउन नै यो मोर्चा बनेझैं हुने गरि यसका उद्देश्य राखिएका छन् । राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्र, शान्ति र अग्रगमनको पक्षमा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीता, जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, कानुनी राज्य निमार्ण गर्न भनिएको थियो ।

मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी समाजवादी थिए, छन् । समाजवादी मोर्चा निमार्णको आधारपत्रको प्रस्तावना भनिएको छ– ‘धर्मनिरपेक्षता, लोककल्याणकारी राज्य, समावेशी लोकतन्त्रलगायतका लोकतान्त्रिक मूल्यमान्यता र समाज विकासको क्रममा विकसित ज्ञान, विज्ञान र प्रविधिसमेतको आधारमा समाजवादी गणतन्त्रात्मक राज्य निर्माण गर्ने सङ्कल्प गर्दै, लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण र संस्थागत विकास गरी मुलुकको विकास, समानता, सुशासन, सम्पन्नता, सामाजिक सुरक्षा, आर्थिक एवम् सामाजिक न्यायसहितको अग्रगामी रूपान्तरण तथा नेपाली विशेषताको समाजवादको लक्ष्य प्राप्तितर्फ दृढतापूर्वक अगाडि बढ्ने सङ्कल्प गर्दैछौँ ।’

रुपमा यति सुन्दर भनिने सुनिने मोर्चाको सार भनेको ओलि सरकारमाथि झट्टी हाल्ने नै हो । एक्लै गाह्रो भएपछि सानातिना मिलेर बनाइएको छ । प्रतिपक्ष दलको दायित्वलाई पुरा गर्न मोर्चाले सफा मनले काम गर्दा त यो सहि नै हुन्छ । अहिले त माओवादीहरुले मोर्चा माधव नेपाललाई सम्हाल्न दिएर तल समाजवादी कार्यकर्ताका टाउकामा मोर्चारुपी ‘घन’ ठोक्न थालेका छन् ।

माओवादीलाई हतियार, समाजवादीलाई ‘बुमर्‍याङ’

मोर्चाका स्वर्णिम सपनाहरु निकै लोभ लाग्दा र आर्दश छन् । तर, यसको निहितार्थ भनेको प्रचण्डको कमजोर आत्मविश्वास बलियो बनाएर सौदावाजीका लागि सहजिकरण गर्न साथ दिने नै हो, यही निहितार्थले प्रचण्डले यो मोर्चा बनाउने प्रस्ताव गरेको । उनको र उनका नेता कार्यकर्ताहरुको प्रस्तुतीले यसको पुष्टि गर्दै गएको छ । यसको अगुवाइ चाही अन्तर्राष्ट्रिय रुपमा समेत विश्वास आर्जेका नेता, पूर्व प्रधानमन्त्री एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई गर्न दिएर उनलाई पनि सम्मान गरेजस्तो देखाउने पनि थियो ।

अहिले पनि त्यही भइरहेको छ र हाम्रा नेताहरु यही ‘सम्मानको गुलियो लड्डु’ मुखमा राखेर रमाउन विवश छन् । जब प्रचण्ड सत्तामा थिए, हुन्छन्, उनलाई माधव नेपालको महत्व हुँदैन, भएन । ओलीसँग प्रधानमन्त्रीको सौदा गर्दा माधव नेपाल चाहिएनन्, पछि फर्केर कमजोरी भयो भन्दै फिस्स हाँस्दा भयो ।

जब जब प्रचण्ड आफुलाई कमजोर भएको महसुस गर्छन्, ‘उग्र डाइनामिक’ बन्दा अरुको साथ नपाएको ‘फिलिङ्स’ गर्छन्, त्यति बेला समाजवादी मोर्चा उनलाई चाहिन्छ । यति बेला उनलाई मोर्चा खुबै चाहिएको छ, उनैका लागि पनि समाजवादीका नेताहरु मोर्चा सम्हालेर चलाउन तत्पर छन् । कहिलेकाँही त यस्तो लाग्छ, उनीहरुलाई पार्टीभन्दा मोर्चासँग बढी ‘लभ’ पर्या छ !

माधव प्रचण्ड मिलेर ओलिमिाथ ठोक्न तयार गरिएको समाजवादी मोर्चाको घन अहिले समाजवादीको संगठन भत्काउन माओवादीले जिल्ला जिल्लामा ‘ए–कता’ भन्दै ठोक्दैछन् । घन बजारिदा निस्केका स–सना टुक्रा कोही माओवादी र कोही एमालेतिर झिल्का बनेर उछिट्टिएका छन् । अर्थात् समाजवादी मोर्चा माओवादीका लागि कवच र एकिकृत समाजवादीका लागि ‘बुमर्‍याङ’ सावित हुँदै गएको छ ।

यस कारण समाजवादीले मोर्चा छाड्नुपर्छ

देशभु माओवादीले समाजवादीका नेता कार्यकर्तालाई ‘एकता भइहाल्छ कि माओवादीमै आउनुपर्छ कि एमालेतिरै भए पनि जानुस्’ भन्न थालेका छन् । यति भनेपछि माओवादी विरोधी भावना बोकेका कार्यकर्ता एमालेतिर लाग्न थालेको देखिन्छ । कतिपय एकता हुने र अहिल्यै गए केही पाइहाल्ने आशले माओवादीतिर लागेका छन् ।

मोर्चाको प्रयोग गरेर संगठन विस्तार बलियो बनाउने इरादा माधव नेपालको पनि नभएको त होइन तर, यो मोर्चा त्यता प्रयोग हुन सकेन । उल्टो मोर्चा जगाइ दिनुपर्ने, बचाइ दिनुपर्ने माधव नेपालले, तर यसको उपयोग गरेर उनकै कार्यकर्तामाथि ठोक्ने प्रचण्ड भइदिए । मेरै जिल्लामा एमालेतिर र माओवादी तिर गएको केही कमरेडहरुलाई सोध्दा माथि एकजना माओवादीका केन्द्रिय नेताले पङ्तिकारसँग भनेकै कुरा सुनाउँछन् ।

मोर्चाका नाममा एकताको हल्ला चलाएर मोर्चाको ‘घन’ समाजवादीको संगठन भत्काउन ठोकिन थालेको छ । यसले समाजवादीलाई आत्मविश्वास बढाएको छैन । उल्टो निराश बनाउने दुई धारे खुकुरी खुकुरीजस्तो भएको छ मोर्चा, जता छोए पनि काट्ने । त्यसैले यो मोर्चा समाजवादीको सांगठानिक हितमा छैन ।

यसबाट निस्कनु नै हितकर हुनेछ । यसो भनिरहँदा यो उक्त पार्टीको नीति विपरित हुन सक्छ, तर जुन नीतिले पार्टी हितमा हुँदैन भने त्यही बोकेर हिडिरहुन पर्ने के भाउँतो आइलागेको छ ?

भर्खरै मोर्चाले काठमाण्डौंमा शक्ति प्रर्दशन गर्ने निर्णय गर्यो । यो काम पनि माधव नेपालकै अगुवाइ र व्यवस्थापनमा हुनेमा दुई मत छैन । यो काममा एकिकृत समाजवादी र पार्टी नेताहरुको ठूलै इर्फोट खर्च हुनेवाला छ । प्रतिपक्षी दलको भूमिका सरकारलाई खबरदारी गरेर गलत प्रवृत्तिलाई घुँडा टेकाउने नै हो । तर, समाजवादी एक्लै माइतिघरमा किन जान सक्दैन ? कि संख्या कम भएर लजाएको हो ?

अझ देशभर मोर्चाको संगठन बनाउने निर्णय अनौठौ छ । राजधानी छोडेर पालिका नटेक्ने समाजवादीका नेताहरुलाई मोर्चा चाँही तलैसम्म किन चाहिएको हो ? बुझिनसक्नु छ । आफ्नो पार्टीको संगठनको चिन्ता भन्दा मोर्चाको चिन्ता बोकेर नेकपा एस उभो लाग्दैन, यही मोर्चाबाट कार्यकर्ताहरु कि माओवादी हुँदैछन्, कि एमाले । यसरी लडाकु बिनाको कमाण्डर बन्ने रहर समाजवादीलाई किन लागेको होला ?

अर्कातिर मोचा बनाउनुभन्दा कार्य क्षेत्रमा नेता कार्यकर्ताहरु खटाएर संगठन बनाउनतिर माधव नेपालको ध्यानै नपुगेको पो हो कि कि समाजवादीका नेताहरु पद लिन मात्र माधव नेपाल भन्ने काम चाँही अरु नै गर्न लागेका हुन् आम कार्यकर्ताहरुले प्रश्न गरिरहेका छन् । अब मोर्चा माधव नेपालले चलाइदिनु पर्ने, त्यसैमा टेकेर प्रचण्डले समाजवादीमाथि नै प्रहार गर्ने परिस्थितिमा यो मोर्चासँगको ‘मायाप्रेम’बाट एकिकृत समाजवादीले ‘ब्रेक अप’ लिनुपर्छ र देश दौडामा सबै काठमाण्डौं बस्ने नेताहरु निस्कनुपर्छ ।

(पत्रकार ढुंगाना समाजवादी प्रेस संगठनका नेता हुन्)

 

Comments

3 responses to “समाजवादी मोर्चाः माओवादीलाई भर्‍याङ, नेकपा एसलाई ‘बुमर्‍याङ’”

  1. bharat kumar thapa Avatar

    हिजो २०५४ मा नेकपा एमालेलाई फुटाएर वामदेव ले माओवादीलाई कार्याकर्ता पुराए अहिले माधवकुमार नेपाल र झलनाथ खनालले अहिले त्यही काम गरेका देखियो लेखकले ठिकै लेखेको आभास भयो

  2. Bhupendra karki Avatar
    Bhupendra karki

    कुकुरले “हड्डी” च्यापेर घुमिरहदा आफ्नै गिजाबाट निस्केको रगतको स्वाद्लाइ हड्डिको स्वाद मानेर हड्डी मोह देखाउछरेन्त। बिचरा माधव काम्रेडको अवस्था त्यही कुकुर जस्तै हो त ?

  3. ksp pyl Avatar
    ksp pyl

    माधव र प्रचण्डको ईच्छाले एमाले फुटाएका, सँगसँगै हिडेका, समाजवादी मोर्चा बनाएकै होईन । चुच्चे नक्सासम्म आईपुग्दा ओलिले भारतसँग स्वाभिमानीपूर्वक आफ्ना कुरा राख्न थाले, देश विकास गर्न थाले, चीनतर्फ पनि सम्बन्ध बढाउन थाले । त्यसै कारण भारतको निर्देशनमा एमाले कमजोर बनाउन भारतले बनाईदिएको मोर्चा हो त्यो । प्रचण्डको त पार्टी नै भारतले जन्माईदिएको हो । प्रचण्डले विशुद्व भारतको दलालीभन्दा अरू केही गर्दैनन । त्यो कुरा बुझेका मोहन वैद्य, गजुरेल हरूले माओवादी छोडे । अहिले उपेन्द्रले मोर्चा छोडिसके । यस्ता एकता, मोर्चा, गठबन्धन भनेका प्रचण्डलाई सत्तामा लैजान र भारत भक्ति गरि नेपाललाई अशान्त, अस्थिर र गुलाम बनाईराख्न हो । तर विस्तारै सबैले यो कुरा बुझ्दैछन र प्रचण्डजस्तो खुराफाती, पदको लागि मान्छे नै मार्न तयार हुने, जसको लागि पनि दलाली गरिदिने धूर्त नेतालाई अब सबैले चिनेर छोडदैछन् । अहिले बिआरआई सम्झौता पछि प्रचण्ड आक्रामक देखिएको त्यो भारत आक्रामक भएको प्रचण्डको रूपमा मात्र हो । पहिले नारायणकाजिले अघि बढाउन खोज्दा सम्झौतालाई रद्दीको टोकरीमा फ्याकेका प्रचण्डलाई बिआरआई सम्झौता पछि भारतले बेस्सरी गाली गरिसक्यो । बरू नारायणकाजि त्यस्तो धूर्त , भारतको दलालको पछि चाहिँ किन बसिरहेका छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *