केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखि हुने

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ गतेदेखि काठमाडौंमा हुने भएको छ । राष्ट्रिय युवा संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म काठमाडौंमा हुने जानकारी दिएको हो ।

प्रतियोगितामा ‘ए’ डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने युवा संघले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।

प्रतियोगिताको क्वाटरफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उनले बताए ।

फुटबल जगतलाई ऊर्जा दिन निरन्तर रुपमा केपी ओली कप फुटबल आयोजना गरिरहेको अध्यक्ष थेबेले जानकारी दिए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीलाई ५०-५० हजार रुपैयाँ दिइने युवा संघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *