ट्रम्प प्रशासनले लगाएको आर्थिक सहयोगको रोकले नेपालमा पनि प्रभाव पर्छ: पूर्वपरराष्ट्रमन्त्री ज्ञवाली

रूपन्देही । नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लगाएको आर्थिक सहयोगको रोकको प्रभाव नेपालमा पनि पर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले अमेरिकी सहयोग ९० दिनका लागि रोक्ने निर्णयको प्रभाव त्यति ठूलो नपरे पनि मातृशिशु सहयोगसम्बन्धी कार्यक्रम र आप्रवासी निकालाले नेपालीलाई पनि प्रभाव पर्ने बताएका हुन् ।

अमेरिका र चीनको व्यापार युद्धको प्रभाव नेपालमा पनि पर्ने भएकाले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्ने गरी वर्तमान सरकारले काम गरिरहेको ज्ञवालीको भनाइ छ ।

उनले सहकारी प्रकरणमा मुछिएका जो-कोहीलाई पनि सरकारले छाड्न नहुने बताए ।

‘सत्तापक्ष वा प्रतिपक्ष जो भए पनि गल्ती गर्ने जो-कोहीलाई पनि छाड्न हुँदैन, सर्वसाधारणको ठूलो रकम सहकारीमा जोडिएको छ’, उनले भने, ‘यो प्रकरणमा संंलग्न जो भए पनि कानूनी दायरामा ल्याएरै छाड्ने गरी सरकारले काम गरिरहेको छ ।’

वर्तमान सरकार देशमा चरम निराशालाई चिर्न र राजनीतिक स्थायित्व कायम गर्न बनेको बताउँदै उनले अस्थिरताको राजनीति गर्नेहरु अहिलेको गठबन्धन र सरकारका राम्रो कामले छटपटाइरहेको दाबी गरे ।

वर्तमान सरकार गठन भएपश्चात देशको आर्थिक अवस्था लयमा आएको उनको भनाइ छ ।

नेता ज्ञवालीले बृहत्तर पार्टीको संलग्नतामा संविधान संशोधन हुने बताउँदे धेरैभन्दा धेरै पार्टीहरुको संलग्नतामा संविधान संशोधन हुँदा सबैको अपनत्व हुने जनाए ।

संविधान कार्यान्वयनको अवस्थामा आएका समस्याहरुलाई समीक्षा गर्दै अगाडि बढ्ने ज्ञवालीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *