काठमाडौं । जिल्ला अदालत काठमाडौंले २२ गतेसमम रिलिज रोक्न अल्पकालीन आदेश दिएपछि ‘एक्टर टेक वान’ को निर्माण पक्षलाई ठूलो झट्का लागिको छ ।
सो चलचित्र भोलिबाट देशभरका हलहरुमा लगाउन निर्माण पक्षले सबै तयारी गरिसकेको थियो भने हिजो मात्रै प्रिमियर शो आयोजना गरिएको थियो ।
भोलि र पर्सी सार्वजनिक विदा भएकाले त्यसको फाइदा उठाउने आशा निर्माताहरुले लिएका थिए । तर अदालतको आदेशपछि फिल्म चलाउन कानूनी व्यवधान उत्पन्न भएको छ ।
चलचित्रका निर्माता थमनकुमार भण्डारीले अदालतको आदेशबारे मिडियाहरुबाट थाहा पाएको बताए । अदालतले आफूहरुलाई चलचित्रविरुद्ध मुद्दा परेकोबारे कुनै पनि जानकारी नगराएको र बहसमा पनि सहभागी नगराइएको उनको गुनासो छ ।
‘मैले न्याय प्रक्रिया नबुझेको हो कि के हो, यो आदेशबाट आश्चर्यमा परेको छु,’ उनले भने, ‘हामीमाथि चरम अन्याय भयो । हामीलाई कतैबाट औपचारिक जानकारी केही पनि आएको छैन । मुद्दा परेको पनि मिडियाबाटै थाहा पाएका हौं ।’
आफूहरुले चलचित्रमा ५ करोड खर्च गरेको र सबै तयारी गरिसकेकाले रिलिज नरोकिने उनको दावी छ ।
‘हामीले चलचित्र विकास बोर्डमा रितपूर्वक दर्ता गरेर, सेन्सर बोर्डबाट पास भएर हलहरुमा लगाउन आँटेका हौं । कुनै कानून उल्लंघन गरेका छैनौं । हाम्रो अभिभावक भनेको विकास बोर्ड हो । बोर्डले औपचारिकरुपमा केही भन्यो भने छलफल गरौंला । नत्र रिलिज रोक्दैनौं,’ भण्डारीले थपे ।
बौद्धिक चोरीको आरोप उनले अस्वीकार गरे । विकास बोर्डसँग छलफल गरेरै यो नाम राखेको उनको भनाइ छ ।
‘यसअघि पनि मिल्दोजुल्दो नाममा फिल्महरु बनिरहेका छन् । विकास बोर्डले एउटै नाम दर्ता गर्न नमिले पनि अगाडि वा पछाडि अर्को फुँदा राखेपछि फरक नपर्ने बतायो । त्यही भएर हामीले एक्टर– टेक वान राखेका हौं । एक्टर मात्रै हुन्थ्यो भने आरोप लगाउन सकिन्थ्यो । योभन्दा अगाडि पनि ‘मेरो हजुर’ र ‘ए मेरो हजुर’, ‘जय भोले’ र ‘भोले’, ‘परशुराम’ र जयपरशुराम’ छुट्टाछुट्टै बनेका छन् । हामीलाई मात्रै किन यसरी खोँचे थापियो बुझ्न सकिएको छैन,’ भण्डारीले भने ।
के हो विवाद ?
गत माघ १० गते ‘एक्टर’ नामकै चलचित्र रिलिज भएको थियो, जसको अंग्रेजी स्पेलिङ छ ACTOR। मदन घिमिरेले निर्देशन गरेको यस चलचित्रमा कृष्ण मल्ल, सरोज खनाल, प्रिन्स थापा, शिवानी गिरी लगायत कलाकारले अभिनय गरेका छन् । राम्ररी प्रचारप्रसार समेत नगरिएको यो चलचित्रले हलहरुमा खासै स्पेस पाएन । चलचित्र हलहरुबाट उत्रिसकेको छ ।
भोलि रिलिज हुन लागेको चलचित्रको नाम हो– एक्टर टेक वान । अंग्रेजीमा Actor Take One लेख्ने गरिएको छ । प्राय कतै पनि नेपालीमा लेखेको देखिन्न ।
नाम उस्तै र रिलिज पनि सँगसँगैजस्तो भएपछि अघिल्लो ‘एक्टर’ का निर्माता तथा कथाकार सम्राट थापाले अदालत गुहारेका हुन् । उनले चलचित्र विकास बोर्ड र दुई निर्माण कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा हालेका हुन् । आफ्नो चलचित्र अझै हलहरुमा प्रदर्शनरत रहेको र देशबाहिर पनि चलाउन लागिएको उनले फिरादपत्रमा दावी गरेका छन् ।
थापाका अनुसार उनको चलचित्रले २०७६ साल माघ १८ गते चलचित्र विकास बोर्डबाट अनुमति पाएको थियो र गत माघ ४ गते प्रदर्शनमा आएको हो । यही नाममा माघ १६ गते अर्को चलचित्र रिलिज हुँदा आफ्नो मुद्दाको औचित्य सकिने भन्दै उनले त्योभन्दा अगाडि नै अन्तरिम आदेशको माग गरेका थिए । अदालतले अन्तरिम आदेश नदिए पनि ७ दिनका लागि अल्पकालीन आदेश दिएको छ ।
‘एक्टर टेक वान’ का अर्का निर्माता मोति कार्कीका अनुसार चलचित्रको नाम सुरुमा ‘आइ एम एक्टर’ राखिएको थियो । तर, कथा तयार भइसकेपछि यसको सिक्वेल पनि बन्न सक्ने भएकाले ‘एक्टर’ मात्रै राख्ने सल्लाह भयो । नाम संसोधन गर्न जाँदा एक्टर नाममा अर्को चलचित्र दर्ता भइसकेको रहेछ । त्यसपछि बोर्डसँग सल्लाह गरेर ‘एक्टर टेक वान’ राखिएको उनी बताउँछन् ।
अदालतले प्रत्यार्थी झिकाउने आदेश पनि गरेको छ । अहिलेसम्म ‘एक्टर टेक वान’ को निर्माण पक्षलाई कुनै पत्राचार गरिएको थिएन । आज भएको बहसमा विकास बोर्डले मात्रै मुद्दाको प्रतिरक्षा गरेको थियो । अब २२ गतेको पेशीमा ‘एक्टर टेक वान’का तर्फबाट पनि बहस हुने छ । त्यसपछि आदेशलाई निरन्तरता दिने नदिने अदालतले निर्णय लिने छ ।

Leave a Reply