सुर्खेत । उत्तर पश्चिम पृतना हेडक्वाटर निमारे ब्यारेक सुर्खेतले ‘एकताका लागि दौड’ को आयोजना गर्ने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरेर विगत वर्षमा झैँ यसपटक पनि दौडलाई निरन्तरता दिइएको जानकारी दिइएको । आगामी ३ गते हुने कार्यक्रमले खेलकुद क्षेत्रको विकासमा थप टेवा पुर्याउन, विद्यार्थी तथा खेलाडीलाई हौसला प्रदान गर्न, राष्ट्रियता संस्कृति जगेर्ना गर्ने विश्वास लिइएको चिफ अफ स्टाफ दिनेश रजौरेले जानकारी दिए ।
जसअन्तर्गत ५ देखि २१ किलोमिटरको दौड हुनेछ । ५ किलोमिटर दौडमा कर्मचारी, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, अन्य सुरक्षा निकायका प्रतिनिधि, नेपाली सेनाका इच्छुक सकलदर्जा, गैससकर्मी, अन्तर्राष्ट्रिय गैससकर्मी, भूपू सुरक्षाकर्मी, स्थानीय क्लबहरू, पत्रकार, स्थानीय सहभागी हुने छन् ।
दौडको अतिरिक्त सैन्य सामग्री साथै पृतना र मातहतका युनिटका फौजी गतिविधिको फोटो प्रदर्शनी पनि गरिने छ ।
२१ मिलोमिटर दौडमा ७५ देखि १ सयजना प्रतिस्पर्धी हुने छन् । जसमा प्रथम, द्वितीय र तृतीय पुरस्कार ३५ हजार, २५ हजार र १५ हजार राखिएको छ ।
कर्णाली प्रदेशको विशेषताको रूपमा रहेको लामो दूरीको दौड र विभिन्न सांस्कृतिक कार्यक्रममार्फत राष्ट्रिय एकताको भावना विकास गर्नका निमित्त एकताको लागि दौड-२०८१ संचालन गर्न लागिएको पृतनाका सह चिफ अफ स्टाफ मुनाल बस्नेतले बताए ।
उनले यूनिटी रनमा सहभागी हुनका लागि आफ्नो जिल्लाको ब्यारेकमा फाराम दर्ता गर्न मिल्ने बताए ।
नागरिक-सेनाबीचको सम्बन्ध बढाउने उद्देश्यका साथ महाशिवरात्री तथा सेना दिवसको अवसरमा पृतनाले २०७८ सालबाट एकताका लागि दौड (रन फर यूनिटी) सञ्चालन गर्दै आएको छ ।

Leave a Reply