काठमाडौं । तनहुँको जलविद्युत आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरेको छ ।
निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना विद्यालय बनाएको हो । सामाजिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण सम्पन्न भएको छ ।
व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको २ तले ८ कोठा भएको पक्की भवन आयोजनाबाट आफ्नै खर्च एवम् प्राविधिक सहयोगमा निर्माण सम्पन्न गरिएको हो ।
आयोजनाबाट निर्माण गरिएको नवनिर्मित भवन विद्यालयको ३३औँ स्थापना दिवस तथा अभिभावक भेलाको अवसरमा आयोजित कार्यक्रमका बीच हस्तान्तरण एवम् उद्घाटन गरिएको छ ।
आयोजनाबाट विद्यालय भवन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरिएको हो । नवनिर्मित उक्त भवनको नगरपालिकाका प्रमुख न्यौपानेले उद्घाटन गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले लागू गरेको डिजाइन अनुसार निर्माण गरिएको हो । विद्यालय भवन भूकम्प प्रतिरोधी एवम् अपाङ्गमैत्री रहेको छ ।
भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच करिब दुई वर्षअघि १ करोड ३८ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना प्रभावित क्षेत्र भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन पनि निर्माण अन्तिम चरणमा छ ।
सामाजिक विकास कार्यक्रमअन्तर्गत हालसम्म व्यास तथा भिमाद नगरपालिका र ऋषिङ, म्याग्दे तथा बन्दीपुर गाउँपालिका आयोजना प्रभावित वडाहरुमा ६६ योजनाहरु सम्पन्न भएका छन् । ९ वटा योजनाहरु हाल सञ्चालित छन् ।

Leave a Reply