रुपन्देही। रोट्र्याक्ट क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष प्रकाश गैरे शर्मा रोट्र्याक्ट डिस्ट्रिक्ट ३२९२ (नेपाल तथा भुटान)को डिआरआर (डिस्ट्रिक्ट रिप्रेजेन्टेटिव(इलेक्ट) पदमा निर्वाचित भएका छन्। शर्मा विगत १२ वर्षदेखि रोट्र्याक्ट क्षेत्रमा सक्रिय रहेका छन्।
१८ देखि ३५ वर्षको उमेर समूहका युवाहरू मिलेर बनेको रोट्र्याक्ट संस्थाको देशभर १७० भन्दा बढी शाखाहरू रहेका छन् भने करिब ७ हजार सदस्य रहेका छन्। हालै बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय कन्भेन्सन हलमा सम्पन्न १७औं राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व चयन भएको हो।
सम्मेलनमा ‘युवा, राजनीति र अबको देश शीर्षकको प्यानल सेसन आयोजना गरिएको थियो। नेपाली कांग्रेसका केन्द्रीय नेता चन्द्र भन्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको यस सेसनमा सांसद ज्ञानेन्द्र शाही, ठाकुर गैरे र सञ्जय कुमार गौतमले युवाहरूका लागि राजनीतिक नेतृत्वका चुनौती र अवसरहरूबारे गतिशील छलफल गरेका थिए। उनीहरूले शासन, नीतिनिर्माण र समाज परिवर्तनमा युवाको सक्रिय सहभागिताको महत्त्वमा जोड दिए।
यसैगरी, ‘माइन्ड म्यानेजमेन्ट’ प्यानल सेसनमा आइएस्कन नेपालका सचिव रूपेश्वर गौर दास, आध्यात्मिक प्रशिक्षक चैतन्य कृष्ण र मानसिक स्वास्थ्य उत्प्रेरक श्रेया गिरिले भावनात्मक दृढता र मानसिक शान्तिको महत्त्वबारे प्रस्तुत गरे। उक्त सेसनमा तनाव व्यवस्थापन, आत्मशान्ति र मानसिक सन्तुलन कायम गर्ने विधिहरूबारे जानकारी दिइएको थियो।
सम्मेलनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बैंकर सिए मनोज ज्ञवालीले युवा नेतृत्व विकास र युवा सम्भाव्यताका विषयमा आफ्ना विचार राखे। यस सम्मेलनमा देशभरका १७० भन्दा बढी क्लबका करिब १,२०० रोट्र्याक्टर्सले सहभागिता जनाएका थिए।
निर्वाचित डिआरआर प्रकाश शर्मा युनाइटेड अजोड इन्स्योरेन्सका लुम्बिनी प्रदेशका नायब प्रदेश प्रमुख हुन् भने लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ बुटवलका सल्लाहकार र निप्स बुद्धभूमि च्याप्टरका महासचिव पनि हुन्। उनी मिडियाकर्मी समेत हुन्।
रोट्र्याक्ट नेपालले युवा नेतृत्व विकास, शिक्षा क्षेत्र र प्राकृतिक प्रकोपका समयमा सहयोग गर्दै आएको छ। नयाँ नेतृत्वले यस परम्परालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply