काठमाडौं । कुनै बेला सबैभन्दा आकर्षक क्षेत्रको रुपमा हेरिएको बैंकिङ क्षेत्र यतिखेर ठूलो समस्याको भुमरीमा छ । घट्दै गइरहेको नाफा, बढ्दै गइरहेको खराब कर्जा र जनशक्ति पलायनले बैंकिङ क्षेत्रलाई दिनप्रतिदिन कमजोर बनाइरहेको छ । जागिर गर्न उत्कृष्ट गन्तव्यका रुपमा परिचित बैंकिङ क्षेत्रबाट अहिले कर्मचारीले धमाधम राजीनामा दिएर बाहिरिरहेका छन् । उच्च लाभांश पाउने आशले बैंकको सेयर किन्न लालायित हुने सेयरधनीहरु अहिले सेयर बिक्री गर्न नसकेर तनावमा छन् । प्रत्येक दिन राष्ट्रिय पत्रपत्रिकामा सार्वजनिक बैंकको सेयर बिक्रीको सूचनाले पनि यसलाई प्रष्टरुपमा प्रतिबिम्बित गर्छ ।
बैंकिङ क्षेत्र थप समस्या पर्दै गएको र बैंकरहरूले पनि चुनौती भोगिरहेको विषयमा बोल्न थालेका छन् । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए) ले गतसाता आयोजना गरेको पत्रकार सम्मेलनमा पनि बैंकरले त्यस्तै संकेत गरे । माघ ७ गते वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक भएपछि ८ गते आयोजना गरेको पत्रकार सम्मेलनमा एनबीएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले अहिले बैंकिङ क्षेत्र आफैँलाई पनि सपोर्ट चाहिएको धारणा राखे ।
बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ । लगानी बढ्न सकेको छैन । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप खिचिरहेको छ । सस्तो ब्याजदरमा बैंकहरु राष्ट्र बैंकलाई निक्षेप दिन बाध्य भइरहेका छन् ।
संघका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरुले ५९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तो निक्षेप २०८० को पुस मसान्तसम्ममा ५४ खर्ब २९ अर्ब रुपैयाँ थियो । यो एक वर्षको अवधिमा निक्षेप संकलन ५ खर्ब ५८ अर्ब रुपैयाँले बढेको छ ।
निक्षेप साढे ५ खर्बले बढेपनि कर्जा प्रवाहमा भने सन्तोषजनक प्रगति देखिँदैन । यो अवधिमा ३ खर्ब १७ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । चालू आवको पुस मसान्तसम्म ४८ खर्ब १५ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । गत आवको सोही अवधिमा ४४ खर्ब ९८ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो ।
बैंकहरुमा पर्याप्त तरलता भए पनि कर्जा प्रवाह भने सोचेअनुसार नभएको संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए । उनले भने, ‘कर्जाको वृद्धि सोचेअनुरूप छैन, तरलता पर्याप्त भए पनि कर्जाको माग छैन ।’
विभिन्न कठिनाइका बाबजुद पनि बैंकिङ क्षेत्रलाई अगाडि लैजानु पर्ने चुनौती रहेको उनले सुनाए ।
‘अहिले अर्थतन्त्र दबाबमा छ, बैंकको खराब कर्जा बढ्दै गएको छ, यसले वितरणयोग्य नाफामा असर परिरहेको छ, धेरै बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ,’ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका संघका अध्यक्ष कोइरालाले भने ।
हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । यी वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण केलाउँदा अधिकांश सूचकहरू ‘स्ट्रेसफूल’ देखिन्छ ।
बैंकका सूचकहरू बिग्रिँदा यसको असर नाफामा परिरहेको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार उनीहरूको नाफा ४.६२ प्रतिशतले घटेको छ । यस अवधिमा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा गरेका छन् । जबकि गत आवको सोही अवधिमा बैंकहरुको यस्तो नाफा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ थियो ।

नाफा कम हुनुको मुख्य कारण बजारबाट पैसा नउठ्नु पनि हो । अहिले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋण उठाउन सकिरहेका छैनन् । यसले बैंकहरुको खराब कर्जामा ऐतिहासिक वृद्धि भइरहेको छ ।
कर्जा लगानी बढाउन नसकिरहेका वाणिज्य बैंकहरुले यसअघि प्रवाह गरेको कर्जा असुली समेत गर्न नसक्दा त्यसको प्रभाव बैंकको नाफामा परेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कर्जा असुलीमा समस्या हुँदा खराब कजा बढेको देखिन्छ ।
२० वटा बैंकमध्ये १९ वटा वाणिज्य बैंकको खराब कर्जा बढेको छ । एउटा बैंकको मात्रै खराब कर्जा घटेको छ । गत आवको पुस मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा एभरेष्ट बैंकबाहेक अन्य वाणिज्य बैंकको खराब कर्जा बढेको छ ।
यो अवधिसम्म सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको देखिएको छ । यस बैंकको खराब कर्जा अनुपात ६.९६ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा अनुपात ४.९७ प्रतिशत थियो ।
अन्य तीन बैंकको पनि खराब कर्जा ५ प्रतिशत नाघेको छ । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज र प्रभु बैंकको खराब कर्जा अनुपात ५ प्रतिशत नाघेको हो । ११ बैंकको खराब कर्जा ४ प्रतिशत माथि रहेको छ ।

ऋण उठाउन नसकेर बैंकहरु ऋण असुली न्यायाधिकरण धाउनु पर्ने बाध्यतामा छन् । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा विभिन्न वाणिज्य बैंकहरुले ५ अर्ब रुपैयाँ भन्दा बढी ऋण उठाउन नसकेको भन्दै न्यायाधिकरणमा ऋणीविरुद्ध मुद्दा दायर भएका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ऋण नतिर्ने भन्दै आन्दोलन गर्न उक्साउनेहरूका कारण बैंकहरुलाई ऋण असुलीमा समस्या भएको बताउँदै आएका छन् । यस्ता अराजक गतिविधिको असर बैंकहरुको खराब कर्जाको ग्राफमा देखिएको उनको तर्क छ ।
गभर्नरको जस्तै तर्क राख्छन् संघका सीईओ शर्मा पनि । उनी भन्छन्, ‘बैंकले आफ्नो नीति नियमभित्र बसेर काम गर्दा पनि बैंकका कर्मचारीमाथि हमला भइरहेको छ, बैंकहरुको निष्कृय कर्जा बढ्दै गएको छ । नयाँ कर्जा लगानी पनि हुन सकेको छैन । वितरणयोग्य नाफा पनि घटिरहेको छ । यसो हुँदा अब के गर्ने भन्ने चिन्ता बैंकरलाई छ ।’
चालू आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार १३ बैंक प्रतिफल दिन सक्ने अवस्थामा छन् । अन्य सात बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । बैंकहरुको लाभांश दर घटिरहेको छ । पछिल्लो पाँच वर्षको वाणिज्य बैंकहरुको लाभांश दर हेर्दा निरन्तर खुम्चिँदै गएको देखिन्छ । अहिलेको अवस्थामा पनि सात बैंक लाभांश दिन नसक्ने अवस्थामा देखिन्छन् ।

बढ्दै गइरहेको खराब कर्जाले चिन्तामा रहेका बैंकरलाई लगानी विस्तार हुन नसक्नुले पनि पिरोलिरहेको छ । अहिले बैंक तथा वित्तीय क्षेत्रबाट अपेक्षाकृत ऋण प्रवाह हुन सकेको छैन । अहिले बैंकले महँगोमा किनेर सस्तोमा पैसाको कारोबार गर्नुपर्ने अवस्था छ ।
परिणामस्वरूप बैंकहरुमा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ । वित्तीय प्रणालीमा अधिक तरलता हुँदा त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई हम्मेहम्मे परिरहेको छ । ऋण लगानी नबढ्दा बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै गएका छन् । यसले वाणिज्य बैंकहरुको आधार दर (बेसरेट) पनि घटाउन मद्दत मिलिरहेको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक हेर्दा वाणिज्य बैंकहरुको आधारदर औसत ६.७४ प्रतिशत छ । आधार दर घट्दा ऋणको ब्याजदर सस्तो हुन पुग्छ । र, पनि कर्जाको माग अपेक्षाअनुसार बढ्न सकेको छैन । बैंकहरु कर्जा बढ्दा र राम्रो बिजनेस गरौँला भन्ने आशामा छन् ।

बैंकिङ क्षेत्र सुदृढ र बलियो भयो भने अन्य क्षेत्रलाई पनि त्यसको सकारात्मक प्रभाव पर्छ । उद्योग व्यवसाय र बैंकिङ क्षेत्र आफैमा परिपूरक हुन् । एउटा क्षेत्र समस्यामा पर्यो भने अर्को क्षेत्रलाई त्यसको प्रत्यक्ष पर्छ । अहिले पनि त्यही भएको जानकारहरू बताउँछन् ।
विगतमा उद्योगी व्यवसायी तथा सरोकारवालाहरूले बैंकहरु नाफा खोर भए, बैंकले मात्रै बिजनेस गरे भन्ने ह्मि फैलाएर नीतिगत रुपमा बैंकलाई कडाइ गर्न दबाब दिँदा अहिले यो स्थिति सिर्जना भएको भन्नेहरू पनि धेरै छन् ।
भविष्यमा पर्ने अप्ठ्याराबारे अध्ययन नै नगरी विभिन्न नीति ल्याउँदा त्यसको असर अहिले वित्तीय क्षेत्रमा देखिरहेको बैंकिङ विज्ञ अनलराज भट्टराईको भनाई छ ।
बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकले पनि बजारकै ह्मिलाई पत्याएर नाफा घटाउनका लागि अपनाएका विभिन्न रणनीतिहरू, पुँजी कोषमा कडाइ, कर्जा नोक्सानी सम्बन्धी नयाँ व्यवस्था, काउन्टर साइक्लिङ बफर, चालू पुँजी कर्जा मार्गदर्शन, र विभिन्न कर्जामा सीमा तोक्ने लगायत नीतिगत कडाइले बैंकहरुको नाफा घट्न गई समस्या सिर्जना भएको बैंकरहरु पनि बताउँछन् ।
‘कतिपय नीतिगत व्यवस्थाले पनि अप्ठ्यारो परेको छ । आफूले ल्याउनको नीतिले बैंकलाई कति क्षति गर्छ भनेर मूल्यांकन नै नगर्ने खालका हाम्रा नीति छ’, उनले भने ।
विज्ञ अनलराज भट्टराईका अनुसार अर्थतन्त्रको हाम्रो हेर्दा वित्तीय क्षेत्रमा दबाब परेको छ । कर्जा वृद्धि हुन सकेको छैन । तरलता पर्याप्त हुनु, विदेशी मुद्रा सञ्चिति व्यापक हुनु, दिएको ऋण उठाउन सकस हुनु जस्ता समस्या वित्तीय क्षेत्रमा छ । यसले गर्दा वित्तीय क्षेत्र सकसमा पर्न थालेको जस्तो देखिन्छ ।

सरकारले भूत लक्षित आर्थिक ऐन ल्याएर बैंकिङ क्षेत्रबाट ठूलो परिमाणमा राजस्व उठाउँदा पनि त्यसको मारमा बैंकहरु परे । अहिले बैंकिङ क्षेत्रहरूले विभिन्न क्षेत्रबाट प्रहार भएका बाणहरूकै कारण ठूलो समस्या सामना गर्नु परेको जानकारहरू बताउँछन् ।
बैंकहरुलाई नाफाखोर भनेर कस्नेखालका नीति ल्याउनु ठिक नभएको विज्ञ अनलराज भट्टराइको तर्क छ । ‘बैंक नाफाखोर होइन । यसलाई नाफाखोर भनेर कस्न खोज्दा त्यसले राम्रो नतिजा दिँदैन । बैंकलाई कस्दा यसमा जोडिएका अरू क्षेत्रलाई पनि असर पार्छ’, उनले भने, ‘अहिलेको अवस्थामा पनि बैंकिङ क्षेत्र केही बिग्रेका कुराहरू सुधार गर्नसक्नेसम्मको अवस्थामा छन् । औपचारिक वित्तीय क्षेत्र तुरुन्तै बिग्रिने अवस्थामा छैन । तर दबाबमा भने छ ।’
यी समाचार पनि पढ्नुहोस्-
थेत्तरा ऋणीः बैंकलाई टेरेनन्, अर्बौँ तिरेनन्
बैंकिङ क्षेत्रमा घट्दो आकर्षणः खस्किँदै लाभांश, बाहिरिँदै लगानीकर्ता
तीन महिनामै १२ खर्ब ७० अर्ब तरलता प्रशोचन, यस्तो छ खास कारण
तरलता व्यवस्थापनको समाधान प्रशोचनमात्रै हो ? यसो भन्छन् राष्ट्र बैंकका सहप्रवक्ता पोखरेल (भिडिओ)

Leave a Reply