भैरहवामा न्यारो बडीका बजेट एयरलाइन्सहरूको बेस बनाउन सरकारसँग माग 

रुपन्देही । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवामा न्यारो बडीका बजेट एयरलाइन्सहरूको बेस बनाउन सरकारसँग माग गरेको छ ।

नाट्टाले छिमेकी मित्रराष्ट्र चीन, बौद्धमार्गी तेस्रो मुलुक र श्रमिक गन्तव्य अरब मुलुकको लागि भैरहवा बेस न्यारोबड जहाज सञ्चालन भएमा मात्रै दीर्घकालीन हुने निष्कर्ष निकालेको हो ।

बुटवलको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य स्थल मणिमुकुन्द सेन उद्यान, बुटवलमा सम्पन्न एक दिने कार्यशाला बैठकले उक्त निष्कर्ष निकालेको कार्यशालापछि जारी विज्ञप्तिमा भनिएको छ ।

संस्थाका अध्यक्ष चन्द्रबहादुर थापा र महासचिव सीता बस्यालले संयुक्त रूपमा हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भैरहवा स्थित गौतमबुद्ध विमानस्थल सञ्चालनको लागि सरकारले अझै प्रभावकारी योजना बनाउनुपर्ने माग गरिएको छ ।

यसै गरी प्रोत्साहन सुविधासहितको प्याकेज घोषणा गरी सबै डोमेष्टिक एयरलाइन्स कम्पनीका कम्तीमा एउटा जहाजबाट निश्चित अवधिका लागि दैनिक अन्तर प्रदेश हवाई कनेक्टिभिटी उडानको व्यवस्था गर्नुपर्ने माग पनि नाट्टाले गरेको छ र यसै गरी अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि बस र होटल सुविधा सहुलियत घोषणा गरी यात्रुमैत्री नीति अवलम्बन गर्नु पर्ने माग पनि गरेको छ ।

नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको प्लानिङ वर्कसपबाट वर्षभरि गरिने पर्यटकीय कार्यक्रमहरूको सूची निर्धारण गरिएको हो । सो बैठकमा लुम्बिनी प्रदेश पर्यटन परिषदका सदस्य माधव नेपाल, पूर्व अध्यक्षद्वय सागर अधिकारी, रचना पन्तले विभिन्न सुझावहरु राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *