देश निर्माणमा नेकपा एमाले मात्र सक्षम छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले देश बनाउन सक्ने एकमात्र पार्टी नेकपा एमाले भएको बताएका छन्।

नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले एमालेले जहिले पनि राष्ट्र र जनतालाई केन्द्रमा राखेर जनपक्षीय काम गरेको बताएका हुन् ।

उनले दक्षिण एसियाको इतिहासमा पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीदेखि हालसम्मका कम्युनिस्ट सरकारले जनपक्षीय काम गरेका कारण एमालेप्रति जनताको विश्वास बढिरहेको बताए।

मुख्यमन्त्री कँडेलले एमालेको नीति, विचार, र नेतृत्व सही भएकाले जनताको आकर्षण बढेको दाबी गरे। उनले सरकारलाई पाएको अवसरमा जनताको चाहनाअनुसार काम गर्न केन्द्रित भएकाले आर्थिक लगायतका क्षेत्रमा सुधारको संकेत देखिएको र जनताले यस सरकारप्रति भरोसा र विश्वास राखेको बताए।

बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य नवराज रावत, मोहनमाया ढकाल, ठम्मर बिष्ट, प्रदेश कमिटी सचिव ध्रुव शाही, र जिल्ला कमिटीका अन्य नेताहरूको सहभागिता रहेको थियो।

मुख्यमन्त्री कडेलले एमालेले आफ्नो सिद्धान्त र विचारधाराका आधारमा राज्य सञ्चालन गर्दै आएको र भविष्यमा पनि जनताका चाहनालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *