प्रहरी मुख्यालयले सरुवा मापदण्ड मिच्दा अधिकृतहरू नै निराश

काठमाडौं । नेपाल प्रहरीले आफ्ना कर्मचारीको सरुवालाई व्यवस्थित गर्न बनाएको मापदण्डलाई मुख्यालयले नै उल्लंघन गर्दा संगठनका अधिकृतमै चरम निराशा छाएको छ ।

नक्सालस्थित प्रहरी मुख्यालयले शुक्रबार १७ एसपीको सरुवा गर्ने क्रममा मापदण्डको उल्लंघन भएको हो । नेपाल प्रहरी प्रधान कार्यालय, नीति निर्माण समिति (पीसीसी) ले २०८० असार २८ गते पारित गरेको सरुवा मापदण्डविपरीत एसपी सरुवा सूची प्रकाशित भएको छ ।

मापदण्डको चौथो बुँदामा उल्लेख भएको ‘साझा मापदण्ड’ मा ‘सामान्यतया कार्यालय प्रमुखको रूपमा १ वर्ष सेवा अवधि पूरा गरेपछि अन्यत्र सरुवा गरिनेछ’ उल्लेख गरिएको छ ।

गत वर्ष फागुन १ को मितिमा सरुवा भएका अपिलराज बोहरा, कुमोध ढुंगेल र भावेष रिमाल एक महिना कार्यकाल बाँकी हुँदै सरुवा भएका छन् । बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा र ढुंगेल जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत थिए । कात्तिकमा जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुबाट जिल्ला प्रहरी परिसर, ललितपुर सरुवा भएका नवरत्न पौडेल तीन महिनामै सम्पति शुद्धीकरण अनुसन्धान विभागको प्रहरी प्रमुखमा सरुवा भएका छन् ।

पौडेलको सरुवाले मापदण्डको अर्को बुँदाको उल्लंघन भएको छ । मापदण्डमा भनिएको छ, ‘एउटै दर्जामा दोहोर्‍याएर कार्यालय प्रमुख दिँदा एक कार्यालय प्रमुखबाट अर्को कार्यालय प्रमुख बीचको समय अन्तर दर्जागत रूपमा आवश्यकताअनुसार निर्धारण गरिनेछ ।’

तर, एउटा जिल्लाको कार्यालय प्रमुख भएर अर्को जिल्लामा दोस्रो हैसियतमा काम गरेको तीन महिनामै कार्यालय प्रमुखका रूपमा उनी सरुवा भएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालय प्रमुख (महानिर्देशक) नेपाल सरकारका सहसचिव हुन्छन् । तर, त्यहाँका प्रहरी प्रमुख भने एसपी दर्जाको रहने व्यवस्था छ ।

गत वर्ष फागुन १ को सरुवामा विभिन्न जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका अन्य एसपी भने अहिले पनि त्यहीँ कार्यरत छन् । उक्त सरुवामा परेका झापाका एसपी मिलन केसी, रुपन्देहीका रञ्जितसिंह राठौर, गुल्मीका राजन भुजेल, सुर्खेतका रुपेश खड्का, गोरखाका बासुदेव पाठक, काभ्रेकी वसुन्धरा खड्का त्यहीँ छन् ।

सरुवा मापदण्डमा ‘कार्यालय प्रमुखको रूपमा खटिने प्रहरी कर्मचारीको हकमा कार्यालय प्रमुखबाट कार्यालय प्रमुखको जिम्मेवारी पाउने गरी सरुवा तथा पदस्थापन गरिने छैन’ भनिएको छ । तर, शुक्रबारको सरुवामा चितवनमा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीबाट गौतम मिश्र पर्सा सरुवा भए । चितवन दरबन्दी भई मानव बेचबिखन ब्युरोमा केही महिनाअघि मात्रै काज खटिएक भावेष रिमाल कार्यालय प्रमुखकै रुपमा सुर्खेतस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा सरुवा भएका छन् ।

प्रहरीको कार्यदक्षता मूल्यांकनका आधार प्रष्ट नहुँदा यस्तो विसंगति आएको पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् ।

‘सरुवामा मात्रै हैन, बढुवाका आधार पनि आफूलाई सुविधा हुने गरी तय गरिन्छ’, उनी भन्छन्, ‘कहिले वरिष्ठताका आधारमा, कहिले कार्यदक्षता मूल्यांकनका आधार भनिन्छ ।’ तर, न कार्यदक्षता मूल्यांकनको कुनै पनि आधार नहुने उनको तर्क छ । ‘आफ्नो मान्छेलाई टिप्नका लागि मात्रै हो, बढुवा दिँदा सुविधाअनुसार आधार खडा हुन्छन्, अर्थात् गोलपोष्टको निशाना नलागे पोष्ट नै फेरिन्छ’, उनले भने ।

पूर्वएसएसपी इन्द्रप्रसाद न्यौपाने प्रहरी परिचालनमा राजनीतिक नेतृत्वले आवश्यकताभन्दा बढी चासो देखाउँदा मापदण्डविपरितका सरुवा र बढुवा हुने बताउँछन् । ‘राजनीतिक नेतृत्वलाई मापदण्डको चासो हुँदैन’ उनी भन्छन् ‘मापदण्डविपरितका सरुवाका निम्ति दिइने दबाबलाई संगठन प्रमुखले अस्वीकार गर्ने क्षमता राख्नुपर्छ ।’

संगठन प्रमुख, अर्थात् आईजीपीले विभिन्न राजनीतिक शक्तिकेन्द्रको दबाब अस्वीकार गर्न नसकेका कारण मापदण्डविपरीतका सरुवा हुने गरेको उनी बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *