काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालय मातहतका निकायहरूलाई सहकारीमा देखिएका समस्या समाधान गर्नेगरि काममा लाग्न निर्देशन दिएका छन् । सोमबार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री अधिकारीले भने, ‘सहकारीमा देखिएका समस्याहरू एक/दुई वर्षभित्रमै समाधान गर्ने सोच सरकारको छ । त्यही अनुसार सम्बन्धीत निकायहरू सबैलाई निर्देशन समेत दिन्छु । नमिलेका र अप्ठ्यारो परेको कुरालाई छलफल गरौँ । अगाडी बढौँ । जिम्मेवारी पुरा गर्राैँ ।’
प्राधिकरणले सबै तहमा भएका अनियमितताबारे छानविन र कारबाही गर्ने उनले दाबी गरे । मन्त्री अधिकारीले भने, ‘बढी चर्चाको विषय हो । यसले सहकारीमा भएको अनियमितताको विषयमा छानबिन गर्छौ । त्यो पनि माथिदेखि तलसम्म सबै तहका मानिसहरू छानबिन गर्छौ । माथिको हस्तक्षेपमा मात्रै होइन तलको पनि सहभागितामा हामी छानबिन गर्छौ ।’
बनाउने बेलादेखि नै विरोध हुने गरेको बताउँदै उनले आगामी दिनमा राम्रो गरेर देखाउने समेत दाबी गरे । कमी कमजोरी भए सुधार गर्ने तर काम नै नगर्ने भन्ने नहुने उनको तर्क छ ।
सर्वसाधारणको समस्या समाधानका लागि हामी प्राधिकरणको स्थापना गरिएको उनले दोहोर्याए । पुरानै कर्मचारी र पुरानै भवनमा नयाँ नाम राखेर काम हुँदैन की भन्ने प्रश्नमा मन्त्री अधिकारीले भने, ‘नयाँ आएर सबै नयाँ काम गर्छन् भन्ने होइन । धेरै ठाउँमा नयाँ मानिस आएर काम नभएको पनि छन् । काम गर्ने इच्छाशक्ति भयो भने नयाँ पुरानो भन्ने नै हुँदैन ।’
कमजोरी भएर नमिलेका कुराहरूलाई मिलाएर काम गर्ने उनले आश्वासन देखाए । थालनी गरेका कुरालाई हिम्मत दिएर मार्गदर्शन दिनका लागि उनले आग्रह समेत गरे ।
सहकारी अध्यादेशबारे राम्रोसँग अध्ययन नै नगरी सहकारी अभियानकर्मीहरूले विरोध गरेको भन्दै उनले असन्तुष्ट समेत जनाए । ‘छोरो जन्मेकै छैन, मेरो ५ वर्षको छोरो भयो भन्न मिल्छ की मिल्दैन ? यसो भन्दै हिँड्दा हामीलाई सही भन्छन् की गलत भन्छन् ?’, उनले अगाडी भने, ‘ऐन बनेपछि लागू हुने हो । यसमा हाम्रै सहकारीका साथीहरू भ्रमित भए ।’
गहिराइमा गएर अध्ययन गरिसकेपछि मात्रै विरोध गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ ।
नेपालमा बढी हल्ला हुने गरेको बताउँदै सरकार गठन हुँदा पनि तत्कालै ढल्छ भन्ने बाहिर चर्चा भएको उनले बताए । मन्त्री अधिकारीले भने, ‘स्पष्ट बहुमतको सरकार छ । अरूले ढाल्छु भनेर पनि ढल्दैन । कसैलाई केही चलखेल गरेर ढाल्छु भन्ने लाग्छ होला । तर उहाँहरूले भन्दैमा ढल्दैन ।’

Leave a Reply